Odapalika - The Fourth Estate - चौथो अंग
अझै लयमा फर्कन सकेन बाढीग्रस्त कागबेनी 

 

मुस्ताङ । बाढीले ठूलो क्षति गरेको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकालगायतका स्थानको जनजीवन अझै सामान्य बन्न सकेको छैन । 

गाउँपालिकाको वडा नम्बर ४ कागबेनीका विद्यालयको पठनपाठन बन्द छ भने मानिसहरु अझैपनि सामान्य जीवनमा फर्कन सकेका छैनन् । 

गत २८ साउनमा  कागखोलामा आएको बाढीले कागवेनीका जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो ।

जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही ८ भदौसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिए ।

बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । २०० जना विद्यार्थी अध्ययनरत  जनशान्ति माविको छात्राबासमा १४० जना विद्यार्थी बस्दै आएका थिए । 

कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन् भने खानेपानी र विजुली आपूर्तिको  प्रयास भइरहेको उनको भनाइ छ । 

बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । 

मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त भएका कारण यातायात अवरुद्ध छ । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update