Odapalika - The Fourth Estate - चौथो अंग
नेपालगञ्ज उपमहानगरका सबै घरको विपद् बीमा, पालिकाले हाल्नेछ प्रत्येक घरमा ५८४ रुपैयाँ 

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले पालिकाबासीको घर बीमा गर्न थालेको छ ।  उपमहानगरपालिकाले विपदपछिको पीडा कम गर्न आवासीय घर बीमा गर्न थालेको हो । 

यसका लागि उपमहानगरले विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएर कार्यान्वयनमा ल्याएको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताए ।

उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको बताउँदै विपद दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिने बताए । 

जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ । यका लागि ३०० वटा घरधुरी सर्भेक्षण गरिसकिएको छ । 

उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने छ । १५ लाख रुपैयाँसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने छ भने १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

१५ लाखको बीमा गर्दा नगरपालिकाले ५८४ रुपैयाँ प्रिमियमबापत दायित्व व्यहोर्नुपर्छ ।  त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए ।

नेपालगञ्जका वडा नं ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसैको पहलमा सो काम भइरहेको हो । 

सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको  वडा नं ३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update