Odapalika - The Fourth Estate - चौथो अंग
१६४ विद्यालयमा ‘मेरो नेपालगञ्ज’, पर्यटन, कला र संस्कृति सिकाउने लक्ष्य 

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निमार्ण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिकसत्रदेखि कार्यान्वयनमा ल्याइएको हो ।

नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिकस्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयका बारेमा बालबालिकाको क्षमता विकास गर्ने, कला, संस्कृतिको संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको हो । पाठ्यक्रममा नेपालगन्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकीय गन्तव्य, कला, संस्कृतिलगायत विभिन्न विषय छनोट गरिएको छ । 

स्थानीय विषयको ज्ञान प्रदान गर्न र संस्कृति संरक्षणमा यो पाठ्यक्रमले मद्दत पु¥याउने शाखा अधिकृत शाहीले बताए । पाठ्यपुस्तकले बालबालिकाले नगरभित्रका चालचलन, रहनसहन र इतिहास, पर्यटन, व्यापारलगायत विषयबारे जानकारी पाउनाका साथै सीप विकासमा टेवा पु¥याउने पालिकाको भनाइ छ ।

गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निर्माण गरिएको थियो । उक्त कार्यदलले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाइसमेत गरिसकिएकाले चालु शैक्षिकसत्रमा लागू गर्ने बताउँदै शाहीले केही दिनभित्र यहाँका सबै विद्यालयमा वितरण गरिने बताए ।

पाठ्यक्रम पढाउन विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अधिकृत शाहीका अनुसार उपमहानगरअन्तर्गत रहेका ४३ सामुदायिक विद्यालय, ३९ धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयमा उक्त पाठ्यक्रम लागू गरिनेछ । उपमहानगरको आफ्नै पाठ्यक्रम नहुँदा विद्यार्थी यसअघि बिना पुस्तक पढ्न बाध्य थिए । चालु आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हातहातमा पु¥याउने नीति उपमहानगरले लिएको छ । 

पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको छ । उपमहानगरले नेपालगञ्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षका जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update