Odapalika - The Fourth Estate - चौथो अंग
गाउँका सरकारको बजेट : एक वर्षको भत्ता साढे ५० लाख 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विद्युतीय प्रणालीअनुसार आइतबार अपरान्हसम्ममा ५५ प्रतिशतभन्दा बढी स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आफ्नो सभामा पेस गरेका छन् । 

संवैधानिक व्यवस्थाअनुुसार असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने हुन्छ । आइतबार अपरान्हसम्म ७५३ स्थानीय तहमध्ये ४१८ स्थानीय तह (५५.५१ प्रतिशत)ले बजेट पेस गरेका मन्त्रालयको बेवसाइटमा प्रविष्ट गरिएको छ । यसमध्ये केहीले पारित गरेका छन् भने केहीले पारित गर्न बाँकी छ । 

यसमध्ये ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेको छ । यही असार ९ गते पेस भएको बजेटलाई पालिका सभाले १० गते पारित गरेको हो । आगामी आर्थिक वर्षको लागि ४६ करोड, ७७ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको सो पालिकाले चालुतर्फ ३० करोड ४५ लाख १८ हजार र पुँजीगततर्फ १६ करोड ३२ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । 

सो पालिकाले विभिन्न भत्तामा मात्र साढे ५० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेले वडापालिकालाई जानकारी दिए । उनका अनुसार सभाले कर्मचारी, पदाधिकारी, महंगीलगायत शीर्षकमा ५० लाख ५० हजार रुपैयाँ बजेट भत्ताका लागि  विनियोजन गरेर पारित गरेको हो । 

bhatta-1-1719744495.png
पारित बजेटअनुसार कर्मचारी भत्ताका लागि १६ लाख ५० हजार, महंगी भत्ताका लागि १४ लाख ५० हजार, कर्मचारी बैठक भत्ता १० लाख, पदाधिकारी बैठक भत्ता ९ लाख र अन्य भत्ताका लागि ५० हजार गरी कुल ५० लाख ५० हजार रुपैयाँ भत्तामा विनियोजन गरिएको छ । 

चालु आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षको बजेटको आकार घटाएको र प्रशासनिक खर्च पनि कटौती गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । 

हेर्नुहाेस् बजेट

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update