Odapalika - The Fourth Estate - चौथो अंग
आज देशभर पानी पर्ने, विभाग भन्छः अझै ४ दिन भारी वर्षा हुन्छ 

काठमाडौँ । आज देशभरका सबै प्रदेशमा मनसुनको प्रभाव बढी नै पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको विभागले कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बढी सतर्कता अपनाउन भनेको छ । 

धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेकाले सतर्क बस्न उसले नागरिकसँग आग्रह गरेको छ । 

ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने तथा  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । 

विभागका अनुसार मनसुनी वायुको प्रभाव अझै ४ दिनसम्म कायम रहनेछ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update