बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपालिकाले दुध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरू गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण सुरू गरेको हो।
जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ। एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरिएको बताए। उनले वितरण गरिएका पाडीहरूको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताए।
“'बुटवललाई दुध उत्पादनमा वृद्धि गर्ने उदेश्यसहित किसानलाई पाडी वितरण गरिएको हो,” उनले भने, “किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मद्दत पुग्नेछ।'
आइतबार ३३ पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए। उनका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन्।
बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। बुटवल उपमहानगरपालिका- १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो।
मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउन्ड ३ टन क्षमताको एकल रेफ्रिजेरेसन युनिट, कन्ट्रोलप्यानलसहितको मेसिन उपलब्ध गराइएको हो।
पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैँसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उनले बताए। गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधार तर्फ अनुदान दिएको उनले बताए। आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घासको बिउ अनुदानमा बितरण गरेको उनले बताए।