Odapalika - The Fourth Estate - चौथो अंग
ओली र देउवाप्रति बालेन शाहको कटाक्ष– यो समय गिरीबन्धु चियाको हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै नेताहरूमाथि व्यंग्य गरेका छन् । 

नयाँ सत्ता समीकरणलाई सामाजिक सञ्जालमार्फत उनले व्यंग्य गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिइरहेको तस्बिर राखेर सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘यो समय गिरीबन्धु चियाको हो । काले–काले मिलेर खाउँ भाले ।” 

गिरीबन्धु टी–इस्टेट प्रकरणमा अध्यक्ष ओलीको नाम मुछिएको छ । उनले नयाँ सत्ता समीकरण पनि ‘मिलेर खानका लागि’ भन्ने आशय व्यक्त हुनेगरी टिप्पणी गरेका हुन् । 

एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहमति गरेसँगै मंगलबार बिहान काठमाडौं महानगर प्रमुख शाहको सो टिप्पणी आएको हो । 

साथै सोही स्टाटसको कमेन्टमा शाहले नारायण गाउँलेको टिप्पणी पनि कपी पेस्ट गरेका छन् । उक्त कपी पेस्ट टिप्पणी पनि अस्थिर राजनीति, भ्रष्टाचारलगायत बेथितिसम्बन्धी रहेको छ । 

शाहले कमेन्ट गरेको नारायण गाउँलेको कपी पेस्ट स्टाटस

गिरीबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ’एकपल्ट’लाई बेच्न दिने ’विधेयक’ संसद्बाट पास भएछ ।

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसद्ले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो ।

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।

सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला, तर सत्ताको ’टाप’ले आँखा छोपियो ।

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट’भन्दा जग्गा किन्न या भाड़ामा लिन महंगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ’पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

नेपालको राजनीति !


 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update