Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डले संसद फेस गरे ओली प्रधानमन्त्री बन्न नपाउने !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन् । 

नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने् सहमति गर्दै उनीहरुले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई अघि सारेका छन् । र, कांग्रेस एमालेले प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । 

तर, प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिने बरु संसदमा विश्वासको मतको सामना गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेपछि प्रचण्डले राजीनामा नदिने स्पष्ट भएको हो । 

संवैधानिक व्यवस्थाअनुसार एमाले या सरकारमा सहभागी हुने दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विस्वासको मत लिनुपर्छ । 

कांग्रेस र एमाले नै सरकारको विपक्षमा रहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने छैनन् । संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत पाउन नसके स्वतः पदमुक्त हुनेछन् ।

प्रचण्ड यसरी पदमुक्त भएपछि नयाँ प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई अघि सारिएको छ । तर, यसरी प्रधानमन्त्री बन्नका लागि ओलीलाई सहज देखिदैन । किनभने संविधानको व्यवस्था यो प्रक्रियाबाट ओली प्रधानमन्त्री बन्नको लागि अनुकल छैन ।

प्रधानमन्त्री प्रचण्ड संविधानको धारा ७६ (२) बमोजिम नियुक्त भएका हुन् । यो धारामा २ वा सोभन्दा बढी दलको समर्थन प्राप्त गर्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री बनाउने भन्ने व्यवस्था छ । यो धारा अनुसार प्रचण्डले विश्वासको मत पाउन नसकेमा त्यसपछि संविधानको धारा ७६ (३) अनुसारको प्रधानमन्त्री नियुक्त हुने संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन् । यो धारामा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । अहिले सबैभन्दा ठूलो दल कांग्रेस हो र त्यसको संसदीय दलको नेता शेरबहादुर देउवा हुन् ।

‘संविधानको अक्षरस पालना गर्ने हो भने संविधानको धारा ७६ (२) बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा धारा ७६ (३) अनुसार सरकार गठन हुन्छ । यो धारामा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने छ,’ संवैधानिक कानुनका जानकार ज्ञवालीले वडापालिकासँग भने ।

यो व्यवस्था अनुसार केपी ओली प्रधानमन्त्री बन्न सहज देखिदैन । किनकि यो व्यवस्थाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएनन् भने त्यसपछि स्वतः कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

यद्यपि, संसदमा कांग्रेस र एमालेको करिब दुई तिहाई बहुमत भएको र यी दलले नयाँ सरकार बनाउन र संविधानका केही प्रावधान नै संशोधन गर्ने तयारी गरेका छन् । स्पष्ट बहुमत सहित नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दा संविधानका यी धाराको व्याख्या कसरी हुन्छ भन्ने विषय भने प्रतिक्षाकै विषय भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update