Odapalika - The Fourth Estate - चौथो अंग
महाधिवेशनका नाममा नेकपा एसमा चन्दा आतंक, स्थानीय  तहका जनप्रतिनिधिसँग १० लाखसम्म असुल 

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशन काठमाडौँमा जारी छ । १६ असारबाट सुरु भएको महाधिवेशन नयाँ नीति र नेतृत्व चयन गर्दै भोलि अर्थात २० असारमा सकिदैछ । 

एमालेसँग बिद्रोह गरेर २०७८ भदौ बनेको यो पार्टीको पहिलो महाधिवेशनमा स्थानीयदेखि संघीय जनप्रतिनिधि र मन्त्रीसम्मलाई भने निल्नु न ओकल्नू भएको छ । कारण हो, चन्दा आतंक । 

महाधिवेशन सम्पन्न गर्न लाग्ने खर्च उठाउन भन्दै नेकपा एसले स्थानीय तहका जनप्रतिनिधिको ढाड नै सेक्ने गरी चन्दा असुल गरेको पाइएको छ । 

स्थानीय तहका जनप्रतिनिधिका अनुसार नेकपा एसका तर्फबाट जितेका वडाअध्यक्षदेखि मेयरसम्मबाट चन्दा उठाइएको छ । 

चन्दा उठाउने कामको समन्वय भने नेता केशवलाल श्रेष्ठले गरेका छन् । श्रेष्ठ नेकपा एसका स्थानीय तह समन्वय विभाग प्रमुख हुन् । 

जनप्रतिनिधिहरुका अनुसार महाविधेशनमा महानगरपलिकाका मेयरलाई १० लाख सहयोग तोकिएको छ भने उपमहानगरका मेयरलाई ७ लाख रुपैयाँ तोकिएको छ । 

नेकपा एसले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर जितेको छ । 

पार्टीले चन्दाको मापदण्ड बनाउँदा उपमेयरको दायित्व भने तोकेको छैन । किनकी देशभर उसले महानगर र उपमहानगरमा उपमेयर जितेको छैन । 

पोखरा महानगरमा धनराज आचार्य र हेटौडा उपमहानगरपालिकामा मीनाकुमारी लामा मेयर छन् । 

पार्टीले नगरपालिका मेयरलाई ५ लाख, गाउँपालिका अध्यक्षलाई ३ लाख र वडाअध्यक्ष लाई २ लाख रुपैयाँ चन्दा तोकेको  नेकपा एसका तर्फबाट निर्वाचित नगरपालिकाका एक मेयरले वडापालिकालाई बताए । 

हाल महाधिवेशनको छलफलमा जुटेका ती मेयरका अनुसार जनप्रतिनिधिसँग चर्को सहयोग असुल गरेपछि उनीहरुले पार्टी नेताहरुसँगसमेत असन्तुष्टि जनाएका छन् । 

स्थानीय तहमा मात्र नभएर प्रदेश र संघका मन्त्रालय सम्हालेका मन्त्रीलाई समेत सहयोगको दायित्व दिइएको छ । बागमती प्रदेशका नेकपा एसबाट निर्वाचित एक मन्त्रीकाअनुसार उनीहरुलाई पार्टीले ५० लाख रुपैयाँसम्म सहयोग गर्न भनेको छ । 

संघीय मन्त्रीका भागमा भने १ करोड रुपैयाँसम्मको दायित्व दिइएको नेताहरु बताउँछन् । महाधिवेशनमा अहिले विभिन्न ४ वटा प्रतिवेदनमाथि छलफल जारी छ । भोलि विद्युतीय मेसिनबाट मतदान गरेर सकिने भनिएको महाधिवेशनमा अध्यक्षमा नेपाल घनश्याम भुसाल आकांक्षी छन् । 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update