Odapalika - The Fourth Estate - चौथो अंग
कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित

काठमाडौँ । कैलालीको भजनी नगरपालिकाका सबै वडा डुवानमा परेका छन् । हिजो कन्द्रा र काढा नदीमा आएको बाढीले नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको मेयर केबल चौधरीले जानकारी दिए ।

ती दुई नदीमा बाढी आएपछि सो बाढी बस्तीमा परेको उनको भनाइ छ । बाढीले सो नगरपालिकाका करिब ३ हजार घरधुरी डुबानमा परेको मेयर चौधरीको भनाइ छ ।

‘सबै वडाका घरधुरी डुबानमा परेका छन् । अहिले हामीहरु उद्धारका लागि फिल्डमा नै छौं, ३ हजार घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक आएको छ । बाँकी विवरण आउने क्रम जारी छ, मैले सबै वडाध्यक्षज्यूहरुलाई आआफ्नो वडाको यथार्थ विवरण उपलब्ध गराउन पनि भनेको छु’ मेयर चौधरीले वडापालिकासँग भने ।

सो नगरपालिकामा मोहना, पथरैया, कन्द्रा र काढा नदी पर्दछन् । यसमध्ये हिजोको बाढीले कन्द्रा र काढा नदीमा बाढी आएको हो । प्रत्यक वर्षको बाढीमा यी चारमध्ये कुनै न कुनै नदीले वस्तीमा पसेर दुःख दिने गरेको मेयर चौधरी बताउँछन् ।

हिजोको बाढीले सबैभन्दा बढी असर पुगेका वडाहरुमा वडा नम्बर १,२,७,५,३ रहेका छन् । यी वडाका स्थानीयहरु उच्च भवन र डुवान नहुने क्षेत्रमा स्थानान्तरण भएका उनले बताए ।

बाढीको कारण सो नगरपालिका क्षेत्रका विद्यालय बन्द भएका छन् । विद्यालय भवनमा बाढी पसेपछि अध्यापन बन्द गरिएको हो । सो नगरपालिकामा ५ वटा विद्यालय रहेका मेयर चौधरीले जानकारी दिए ।

यद्यपि, सो क्षेत्रमा स्वास्थ्य सेवा भने प्रभावित भएको छैन । नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र रहेका र ती स्वास्थ्य केन्द्रहरु तुलनात्मक रुपमा उच्च स्थानमा निर्माण गरिएकोले वाढीले प्रभावित नभएका मेयर चौधरीले जानकारी दिए । र, स्वास्थ्य चौकीहरुमा पर्याप्त मात्रामा औषधी रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update