Odapalika - The Fourth Estate - चौथो अंग
‘मृत्यु भएका व्यक्ति’को नाममा सामाजिक सुरक्षा भत्ता निकासा 
प्रतीकात्मक तस्बिर

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षाभत्ता निकास गरेको छ । महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष २०७९र०८० को लेखापरीक्षण प्रतिवेदनमा कपिलवस्तु नगरपालिकाले मृत्यु भइसकेका ९१ लाभग्राहीको नाममा भत्ता निकास गरेको उल्लेख गरिएको छ । 

लाभग्राहीको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता मात्र मृतकको हकवालालाई भुक्तानी दिन सकिने संवैधानिक व्यवस्था भए पनि मृत्यु भएका लाभग्राहीको ढिलो लगत कट्टा गरेका कारण मृत्यु पश्चात पनि लाभग्राहीको खातामा रकम जम्मा भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । ६ लाख ५५ हजार ७८१ रुपैयाँ भुक्तानी हुनुपर्नेमा १२ लाख १५ हजार २२२ रुपैयाँ निकासा भएकाले ५ लाख ५९ हजार ४४१ रुपैयाँ असुल गर्न महालेखाले निर्देशन दिएको छ । 

“सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को अनुसुची १० ( ९ ) बमोजिम निष्कृय खाताहरुको विवरण तोकिएको समयमा पालिका तथा पञ्जीकरण विभागमा पठाउनुपर्नेमा पठाएको देखिएन । उक्त कार्याविधि २०७७ को बुँदा १५ अनुसार भत्ता खाईपाई आएको कुनै लाभग्राहीको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता मात्र निजको हकवालालाई भुक्तानी दिन सकिने व्यवस्था रहेकोमा कार्यालयलाई बैंकबाट प्राप्त स्टेटमेण्ट र ब्याच ईन्ट्रीको परीक्षण गर्दा तपसिल बमोजिमका मृत्यु भएका लाभग्राहीहरुको ढिलो लगत कट्टा गरेका कारण मूत्यु पश्चात पनि रकम लाभग्राहिको बैंक खातामा जम्मा गरेको देखिएकोले नगरपालिकाले आवश्यक छानबिन गरी बढी भुक्तानी भएको रकम असुल गरी संघीय संचित कोष दाखिला गर्नुपर्ने रु.५५९४४१,” महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

महालेखापरीक्षको निर्देशनसँगै नगरपालिकाले सो रकम फिर्ताको लागि काम गरिसकेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जानकारी दिए । 

“मरेको मान्छेको नाममा निकास भन्ने होइन । त्यो उनीहरु (महालेखा)को भाषामा राख्छन् । हामीले माघसम्मको पैसा गरिदिउँ । मान्छे पुसमा मरेको भने बैंकले पुससम्मको मात्र पैसा दिन्छ, एक महिनाको दिँदैन, त्यो पैसा हो,” उनले वडापालिकासँग भने,  त्यो रकम बैंकलाई फिर्ता गर भनिसकेका छौँ ।” 

सरकारले ज्येष्ठ नागरिक, एक महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update