Odapalika - The Fourth Estate - चौथो अंग
लिखु गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट, प्रत्येक वडामा हेलिप्याड बनाउने (पूर्णपाठ)

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले सबै वडामा हेलिप्याड बनाउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको छ ।

गाउँपालिकाले प्राकृर्तिक प्रकोपको समयमा मानवीय उद्धारका लागि सबै वडामा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको हो । 

‘पाकृतिक प्रकोपको समयमा मानवीय उद्धारका लागि प्रत्येक वडाहरुमा क्रमशः हेलिप्याड निर्माणलाई प्राथमिकता दिइनेछ,’ बजेटमा उल्लेख छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३९ करोड ३० लाख रुपैयाँको बजेट ल्याइएको प्रवक्ता मोहन कार्कीले जानकारी दिए ।

गाउँपालिकाले कृषि, सहकारी र पशुपन्छीसँग सम्बन्धित कार्यक्रमहरुका लागि ७१ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, शिक्षा, युवा तथा खेलकुदका लागि १४ करोड ५८ हजार रुपैयाँ र स्वास्थ्य सेवाका लागि ४ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रवक्ता कार्कीले दिएको जानकारी अनुसार लैंगिक समानता तथा सामाजिक समावेशीकरणको लागि ५८ लाख, पूर्वाधार विकास, खानेपानी, सिंचाई तथा उर्जाका लागि १० करोड ४८ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि २० लाख ३७ हजार, पर्यटन विकास लागि ३५ लाख, रोजगारी सिर्जना, उद्योग तथा शीप विकासका लागि ९७ लाख २२ हजार र सार्वजनिक सेवा संचालन तथा सुशासनका लागि ७ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

१ करोड राजस्व उठाउने 

लिखु गाउँपालिकाले आगामी आर्थिक वर्षमा १ करोड ३० लाख ६५ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ । यस्तै, संघीय राजस्व बाँडफाँडबाट ७ करोड १६ लाख, प्रदेश राजस्व बाँडफाँडबाट २३ लाख, संघीय समानीकरणबाट ७ करोड ४८ लाख, प्रदेश समानीकरणबाट ४३ लाख र प्रदेश समपुरक अनुदानबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गाउँपालिकाको छ ।

यस्तै, संघीय विशेष अनुदानबाट १ करोड रुपैयाँ र संघीय सशर्त अनुदानबाट १९ करोड ४१ लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड २१ लाख रुपैयाँ प्राप्त हुने गाउँपालिकाको अनुमान छ ।

लिखु गाउँपालिकाले असार १० गते नै बजेट सार्वजनिक गरेको हो । गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बजेट सार्वजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, आवाश र रोजगारी जस्ता मानवीय आवश्यकताहरुको परिपूर्ति विकास र प्रबद्र्धन गर्ने प्राथमिकता राखिएको छ ।

यस्तै, उच्च, दीगो र फराकिलो आर्थिक बृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत तथा उद्योग क्षेत्रमा पुँजी परिचालन गराउने, भौतिक तथा समाजिक पूर्वाधारहरुको विकास गरी सडक विस्तार, जलविद्युत क्षेत्रको निर्माण, विकास र विस्तार कार्यलाई पनि प्राथमिकतामा राखिएको छ । स्थानीय स्रोत साधनको परिचालन, सुशासन, अभिबृद्धि, प्राकृर्तिक प्रकोप न्यूनीकरण, स्थानीय उत्पादनको औद्यगिकीकरण, पर्यटन विकास र दीगो तथा भरपर्दाे पूर्वाधार निर्माणलाई बजेटले प्राथमिकता दिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update