Odapalika - The Fourth Estate - चौथो अंग
१२ लाख ५२ हजार अनियमितताको आरोपमा कटहरियाका प्रमुख,  उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुविरुद्ध१२ लाख ५२ हजार ४१ रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको  आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार अनुसार कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवन निर्माण योजनाअन्तर्गतको टायल्स फ्लोरिडाको कार्यमा १२ लाख ५२ हजार ९४१ रुपैयाँ अनियमितता गरेको आयोगले ठहर गरेको छ । 

कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अनियमितता भएकाे पाइएकाे अख्तियारकाे ठहर छ ।

कटहरिया नगरपालिका अन्तर्गत आ.व. २०७८/०७९ मा नगरपालिकाको वडा नं. २ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङको कार्य लागि उपभोक्ता समितिमार्फत् निर्माण गर्ने गरी योजना सम्झौता गरी कार्य गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्ग मिटर रहेकोमा फिल्डमा ७२०.८१ वर्ग मिटर मात्र रहेको अनुन्धानले देखाएकाे थियाे । फिल्डमा भए गरेको कार्यभन्दा बढी परिमाण ४७३.६० वर्ग मिटरको नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनुगमन समितिबाट सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन पनि दिइएकाे थियाे । 

'सोही सिफारिसको आधारमा कम काम भएकोमा बढी काम भएको देखाई १२ लाख ५२ हजार ९४१ रूपैयाँ बढी भुक्तानी लिई/दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीउपर देहायबमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update