Odapalika - The Fourth Estate - चौथो अंग
यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा 

काठमाडौँ । देशभर  आजपनि भारी वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आगामी केही दिनसम्म मनसुनी वायु सक्रिय रहने बताएकी छिन् । 

उनले मनसुनी वायु सक्रिय रहने र भारी वर्षा हुने देखिएको हुनाले सतर्कता अपनाउन आग्रह गरेकी छन् । 

उनले भनिन्, ‘विगत केही दिनदेखि देशभर नै विभिन्न स्थानमा वर्षा भइरहेको अवस्था छ । आगामी केही दिन मनसुनी वायु सक्रिय नै रहने र भारी वर्षा हुने देखिएको हुनाले सतर्कता अपनाउन आग्रह गर्न चाहान्छु । यसपाली औसत अथवा औसतभन्दा बढि नै वर्षा हुने सम्भावना छ ।’

उनले विशेषगरी कोशी र मधेश प्रदेशमा बढी वर्षाको सम्भावना रहेको तराईका जिल्लाहरुमा बाढीको सम्भावना वढीरहेको पनि बताइन् ।  

उनले भनिन्, ‘विशेषगरी कोशी र मधेश प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको छ । अहिलेको वर्षाको अवस्था हेर्दा तराइका जिल्लाहरुमा बाढीको सम्भावना बढी नै देखिएको छ । बागमती र गणकी प्रदेशमा पनि वर्षा राम्रै हुने देखिएको छ । गण्डकी भनेको मनसुनमा बढी नै पानी पर्ने प्रदेश हो । त्यतातिर पनि पहिरो र बाढीको सम्भावना धेरै देखिन्छ ।’ 

हालको अवस्थामा हेर्ने हो भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा हल्का खालको वर्षा भइरहेको अवस्था छ । भने विहीबार राती कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । 

मौसम सम्बन्धी जानकारी लिनको लागि विभागले टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको छ । 

‘मनसुन सक्रिय हुँदा वर्षाका कारण उडानहरु धेरै प्रभावित भइ रहने हुन्छ । विशेष गरेर आन्तरिक उडानमा यस्तो समस्या धेरै आउने हुन्छ । किनभने आन्तरिक उडान पहाडी क्षेत्रतिर धेरै हुने गरेको पाइन्छ । यसको साथै अन्तर्राष्ट्रिय उडानमा पनि निरन्तरको वर्षाले असर पार्छ,’उनले भनिन्, 

यसको साथै, हवाइ सँगसँगै सडकमा हिन्ने सवारी साधनको लागि पनि भारी वर्षा सुरक्षित नहुने भन्दै विभागले दिएका सूचनाहरुलाई हेरेर नै घरबाट निस्किन पनि विभागले आग्रह गरेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update