Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगर महानगरले दियो अनुदानमा कृषि उपकरण 

काठमाडौँ । विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । 

महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभित्र वडाका कृषक समूह, कृषि सहकारी र कृषि फार्मलाई १९ लाख १० हजार ६०० रुपैयाँबराबरका कृषिऔजार वितरण गरेको हो । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको बताए । 

महानगरले विराटनगर–१८ स्थित महिला बीउ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नं वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरेको हो । 

 त्यस्तै, न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ । विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको छ ।

महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बीउबिजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update