Odapalika - The Fourth Estate - चौथो अंग
सम्पादकीयः हाम्रो एक वर्षको यात्रा 

ओपी मिडिया प्रालिले संचालन गरेको वडापालिका डटकमले आजवाट एक वर्षको यात्रा पुरा गरेको छ । गत वर्ष आजैका दिन यो अभियान सुरु गर्दा बामे सर्दै गरेको नेपालको संघीय अभ्यास, स्थानीय सरकारहरुको सवलीकरण हाम्रा मुल मुद्दा हुन् भनेका थियौँ । यो एक वर्षको अवधिमा मुद्दा केन्द्रीत बहस र सूचना सम्प्रेषणमा एक हदसम्म सफल भएका छौँ भन्ने ठानेका छौँ ।

यात्रा सुरु गर्दै गर्दा स्थानीय सरकारहरु कसरी काम गर्ने, कानुन निर्माणदेखि संविधानले दिएको अधिकारको प्रयोग कसरी गर्ने भन्नेमा एकखालको अलमलमै थिए । यो बीचमा स्थानीय तहको सवलीकरण, संविधानले दिएको अधिकारको प्रयोगजस्ता धेरै विषयबस्तुमा हामीले नीतिगत रुपमा घच्घच्याउने काम मात्र गरेनाैँ दूरदराजमा भइरहेका असल अभ्यासहरुलाई राष्ट्रिय चासो र एजेण्डा बनाउने पुलका रुपमा पनि भूमिका निर्वाह गर्यौँ । 

यो अवधिमा हाम्रो अनुभवले भन्छ– सेवा प्रवाहका दृष्टिले होस् या पूर्वाधार विकासका सोच र कार्यान्वयनका आधारमा, स्थानीय तह र स्थानीय सरकारहरु अब्बल बन्ने बाटोमा छन् । यद्यपि यो पूर्ण होइन । 

स्थानीय सरकारहरु केही गर्ने हुटहुटीमा छन् । तर, हाम्रो राज्य संयन्त्रमा अहिले पनि केन्द्रीय मानसिकता हाबी छ । केन्द्रले बनाइदिएको कानुन कपि गरेर कार्यान्वयन गर्ने अवस्थाबाट माथि उठ्न र संविधानले दिएको अधिकारको प्रयोग र अभ्यासमा स्थानीय सरकारहरु खरो उत्रन अझै बाँकी छ । यहाँसम्म कि स्थानीय सरकारहरु आफैँलाई ‘स्थानीय सरकार’ भन्नसमेत आँट गरिरहेका छैनन् ।  

जसरी स्थानीय सरकार हाँक्न जनप्रतिनिधि काविल छन्, उसैगरी कर्मचारी परिचालनमा पनि उनीहरुको एकल अधिकार र पहुँच अनिवार्य सर्त हो । संघले प्रमुख प्रशासकीय अधिकृत खटाउने, प्रदेशले कर्मचारी नियुक्तिदेखि सरुवा वढुवासम्ममा हस्तक्षेप गर्नेजस्ता संविधानको भावनाविपरीतका गतिविधितोड्न अब स्थानीय तह आफैँ जाग्नुपर्छ । 

स्थानीय सरकारमाथि संघीय सरकारले गर्ने श्रोत साधनमा केन्द्रको नियन्त्रण, अनुदानमा दान शैली, स्थानीय श्रोत साधनको उपयोगमा आवश्यकताभन्दा बढी आशक्तिजस्ता समस्या आज पनि छन् । हामी हाम्रो अभियानमार्फत यसलाई चिर्न निरन्तर खबरदारी गर्ने छौँ । सेवा प्रवाहमा स्थानीय  सरकारलाई जिम्मेवार बनाइएको छ । तर श्रोत साधन केन्द्रको नियन्त्रणमा छ । यो गलत हो । सेवा दिनेसँग श्रोतसाधनमा  पहुँच र नियन्त्रण हुनैपर्छ । स्थानीय सरकारहरुले यासलाई वुझ्ने र खवरदारी गर्ने काम गर्नैपर्छ । 

स्थानीय सरकार सवल नभएसम्म देश समृद्ध बन्नै सक्दैन । जनतामा आशाको सञ्चार हुनै सक्दैन । रोजगारी सिर्जना, उद्यमशीलता विकास, गुणस्तरीय शिक्षा–स्वास्थ्यजस्ता आधारभूत मानवीय आवश्यकता पुरा नगरी नागरिकको जीवनस्तर उकास्न सम्भव छैन । त्यसैले हामी भन्छौँ– केन्द्रको आँखाले स्थानीय तह होइन, स्थानीय आँखाले केन्द्रलाई हेर्ने मानसिकता बनेको दिन ‘समृद्ध नेपाल सुखी नेपाली’ सम्भव छ, ‘कोखदेखि शोकसम्म’ नागरिकका आवश्यकता पूरा गर्न सम्भव छ । 

यति हुँदा हुँदै पनि स्थानीय तहहरु अझै सुशासनमा कमजोर देखिएका छन् । भ्रष्टाचार र अनियमितता संक्रामक बन्दै गएको छ । शासन गर्ने भन्दा सेवा गर्ने मानसिकताका साथ जनप्रतिनिधि र स्थानीय सेवाका कर्मचारी अग्रसर हुनैपर्छ । यसो भयो भने स्थानीय तह बलियो मात्र होइन, देशको सर्वाङगीण विकास पनि सम्भव छ भन्ने हाम्रा मान्यता छ । 

यी मान्यता र विश्वासलाई अघि बढाउन यो एक वर्षको यात्रामा साथ दिनुहुने हाम्रा पाठक, दर्शक, श्रोता, विज्ञापनदाता, सहकर्मीलगायत सम्पूर्णमा आभार व्यक्त गर्दछौँ । र, प्रण गर्छौ– यो अभियान निरन्तर जारी रहनेछ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update