Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिँदै, यस्तो छ संसद्को अंकगणित 

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । 

शुक्रबार संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूचीमा समावेश गर्न आग्रह गरेका छन् । उनले सत्ता सम्हालेपछि यो पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । 

२०७९ पुस १० गते सत्तारोहण गरेका प्रधानमन्त्री प्रचण्डले चारपटक विश्वासको मत लिइससकेका छन् । तर, उनलाई समर्थन गर्नेको संख्या क्रमशः घट्दै गएको छ ।

डेढ वर्षको बीचमा २०औँपटक मन्त्रिपरिषद् हेरफेर र चारपटक विश्वासको मत लिएर सत्ता जोगाएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई यसपटक भने बीचमा  कुनै चमात्कार नभएमा सत्ताबाट बहिर्गमन हुनुपर्ने निश्चित छ । 

गत जेठ ७ गते चौथोपटक विश्वासको मत लिएर संसद्बाट बाहिरिँदा उनले आवश्यक परे १० पटकसम्म विश्वासको मत लिने बताएका थिए । तर, ५४ दिनमै उनले सत्तासाझेदार दल एमालेलाई टिकाउन नसक्दा पाँचौँपटक विश्वासको मत लिने अवस्थामा पुगेका छन् । जसकारण संविधानले दिएको दुई वर्षे कार्यकाल पूरा गर्न नसक्ने स्थितिमा उनी पुगे । 

संसद्को अंकगणित

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन बहुमत संख्या १३८ जना सांसदको समर्थन चाहिन्छ । तर, माओवादी केन्द्रको ३२ जना सांसद छन्, बाँकी १०६ जना सांसद्को समर्थन प्राप्त गर्न प्रधानमन्त्री प्रचण्डलाई सहज छैन । 

८८ सांसद रहेको कांग्रेस र ७७ सांसद रहेको एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै अधिकांश साना दल नयाँ समीकरणतर्फ ढल्किएका छन् । यसले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावनालाई समेत टारेको देखिन्छ । 

संविधान संशोधनको एजेण्डा बोकेर नयाँ समीकरण बनाएका कांग्रेस–एमाले गठबन्धनलाई भनिएका मधेशवादी दल र १४ सांसद् रहेको राप्रपाले समेत साथ दिने देखिएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई २१ सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साथ दिए पनि विश्वासको मत प्राप्त गर्न आवश्यक संख्या पूरा गर्दैन । 

यी दलबाहेक प्रतिनिधिसभामा, एकीकृत समाजवादीको १०, जसपाको ७, जसपा नेपालको ५, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, स्वतन्त्र सांसद २, मजदुर किसान पार्टीको १, राष्ट्रिय जनमोर्चा १ र आम जनता पार्टीको सांसद एकजना रहेका छन् । 

अधिकांश साना दलले नयाँ गठबन्धनलाई समर्थन गर्ने संकेत देखिएको छ । यसर्थ, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन मतदान प्रक्रियामा जानुअघि संसद्‌मा राजीनामाको घोषणा गर्ने सम्भावना उत्तिकै देखिन्छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १० गते पहिलोपटक विश्वासको मत लिएका थिए । यसपछि उनले दोस्रोपटक २०७९ चैत ६ गते, तेस्रोपटक २०८० फागुन ३० र चौथोपटक २०८१ जेठ ७ गते विश्वासको मत लिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update