Odapalika - The Fourth Estate - चौथो अंग
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बाटो निर्माण गर्दा १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठजनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका–२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको उजुरी परेपछि अनुुसन्धान थालेको अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो। 

उनीहरूले नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी झुटा बिल बनाएर १२ लाख सात हजार २६० रुपैयाँ अनियमितता गरेको पाइएको ठहर गरेको अख्तियारले सोही रकम बराबर बिगो माग दाबी गरेको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साहलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update