Odapalika - The Fourth Estate - चौथो अंग
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्

डियर सवि !

बिजुलीको पोलमा– सेतो, सफेद, स्पष्ट बिछ्यौनामा रातो रंगले भरिएकी तिमीलाई गल्ली–गल्ली र चोक–चोकमा देख्न पाउँदा आफूलाई धन्य महसुस गर्दछु ।

मध्य वर्षामा बिजुलीको पोलमा तिमीलाई स्नान गरेर तप्लक तप्लक झरेको जलथोपा गन्हाउने ढलमा नझरोस् भन्ने कामना उत्तिकै छ मेरो । 

डियर सवि !

तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।

बालेन खराब हुन सवि । पैदल यात्रीलाई सजिलो पार्न खोज्ने ? मान्छे हिड्न मिल्ने बनाउने ? न्यूरोडलाई नयाँ बनाउन खोज्ने ? हो सवि, न्यूरोड, न्यूरोड नै रहनु पर्छ । भिडभाड हुनुपर्छ । सवारी जाम हुनुपर्छ । गाडी नहुनेले न्यूरोड घुम्ने ? म तिमीसँग सहमत छु सवि । गाडी हुनेहरु मात्रै न्यूरोड जान पाउनु पर्छ । ड्याम केयर पैदलयात्री, ड्याम केयर फुटपाथ ।

भगवान विष्णुले पृथ्वीको भार हर्न अवतार लिए जस्तै गरी तिमी बिजुलीको पोलमा सवि अवतार लिएर प्रकट हुँदा सुरुमा त म पनि अलमलमा परें । अनि सडक विभागका सूचना अधिकारीलाई फोन गरेर सोधेको थिएँ– गल्लीगल्लीमा सवि किन प्रकट भइन्, को हुन यी सवि भनेर ।

उनले सडक डिभिजन कार्यालय काठमाडौँलाई सोध्न भने । डिभिजन सडक कार्यालय काठमाडौँका सूचना अधिकारीले तिम्रो नयाँ अवतारको कारण खोले– सुतजीले शौनकादि ८८ हजार ऋषिहरुलाई श्रीमद् भागवत पुराण सुनाए जस्तै गरी । 

अनि मलाई थाहा भयो– सडक विभागले बनाएको सडक चिनियोस भनेर सवि अवतारमा तिमी प्रकट भइछ्यौ । सवि लेखेको सडकका बारेमा कुनै पनि समस्या वा गुनासो भए सडक विभागमा फोन गर्नु अरे । उसले तत्काल सम्बोधन गरिदिन्छ रे !

सूचना अधिकारीले यतिसम्म पनि भने– जहाँको सडकमा समस्या आए पनि हामी (सडक विभाग) लाई नै दोष दिन्छन् । तर, सडकको जिम्मा हाम्रो मात्रै छैन, अरुको पनि छ । त्यसैले हामीले बनाएका सडक चिनियोस् भनेर सवि लेखेको ।

सवि ! सूचना अधिकारीले जे तर्क गरेर ढाकछोप गर्न खोजे पनि चुरो कुरो पत्ता लाग्यो नि ! तिमीमाथि बालेनको बक्रदृष्टि पर्ने खतरा महसुस गरेर तिमी बिजुलीका पोलमा सजिएकी रहेछौ– महाभारत लडाइँको समयमा अर्जुनको रथको ध्वजामा हनुमान बसे जसरी, कृष्ण सारथि भए जसरी । सडक विभागका सडकको रक्षार्थ तिमी बिजुलीका पोलमा सफेद रंगमा रातो अवतारमा प्रकट भएकी रहेछौ ।

सवि ! तिमी सजिएको सेतो रंग राष्ट्रको ढुकुटीको पैसाले किनिएको हो । तिमी रंगिएकी रातो रंग सरकारी बजेटमा खरिद गरिएको हो । तिमीलाई लेख्ने मान्छेहरु सरकारी तलब खाएर सवि लेख्न खटिएका हुन् । यो पैसा करदाताको हो । तिमी सजिएको पोल विद्युत प्राधिकरणको सम्पत्ति हो । अर्काको सम्पत्तिमा करदाताको पैसा खर्च गरेर मनलाग्दी गरियो भन्दिनँ म । किनभने तिमी सवि हौ । तिमी मेरो मन, मुटु, म हिँड्ने बाटो र नीति निर्माता तथा कार्यान्वयनकर्ताले गुजारा चलाउने उपकरण हौ ।

सवि ! तिमी बालेनको बक्रदृष्टिबाट जोगिनु पर्छ । बालेन मात्रै होइन, सबै स्थानीय सरकारहरुबाट जोगिनु पर्छ । सडक मर्मत संभार हुनुहुदैन । सडकमा खाल्डा परुन्, गाडी, मान्छे, जनावर जेसुकै डुबुन, डुब्न देऊ । बनाउनु हुँदैन । तिमी सवि हौ यार । सविले यस्ता झिनामसिना कुरामा अल्झेर बस्ने नै होइन । बस ! बालेनहरुले मर्मत संभार गर्नबाट जोगिने हो । बरु तिमी राष्ट्रिय राजमार्ग हूँ म भन, रणनीतिक महत्वको सडक हूँ भन, सामरिक महत्व छ मेरो भन । लक्ष्य एउटै हुनुपर्छ– खाल्डा हुनै पर्यो, हिलो–धुलो चाहियो नै, मर्मत संभार हुनु भएन । तिमी सडकमा गाडी नै निल्ने खाल्टो बनाऊ, त्यसको दोष तिमीलाई आउँदैन । बालेनले गाली खान्छन् । अर्थात, तिमी जे गर सवि, परेको बालेन व्यहोर्छन् ।

सवि ! तिमी जे गर, जसो गर, जता जाऊ, जसलाई भन– नियमित मर्मत संभारबाट टाढै हुनुपर्यो । फेदमा कुकुर मरेर गन्हाएको होस् वा ढल फुटेर दुर्गन्ध फैलिएको होस्, त्यता ध्यान नदेऊ । तिमी सवि हौ, बिजुलीको पोलमा सेतो रंग दलिएको पृष्ठभूमिमा रातो रंगले सजिएर बस । तिमी सजिएको पोलको आसपास हिलो उछिट्टिनै पर्छ, धुलो उड्नै पर्छ, र त तिमी वर्षातको पानीले पखालिएर सुन्दर देखिन्छौ ।

सवि ! तिमी भैरव अर्यालले सुझाए जस्तै बन । उनले अलकापुरी कान्तिपुरी नगरीमा लेखेका थिए– 

‘पथ सात–फुटे बस नौ गजको

सिट बीस भए भिड सौतकको

छ त अन्त कतै सुविधा यसरी

अमरावति कान्तिपुरी नगरी ।’

लभ यु सवि ! 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update