Odapalika - The Fourth Estate - चौथो अंग
बाढी पहिरोको कहरः ७ जनाले गुमाए ज्यान, कोशीका ४१ ढोका खोलिए, देशभर यस्तो छ अवस्था 

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण पछिल्लो २ दिनमा मात्र ८ जनाले ज्यान गुमाइसकेका छन् । 

प्रहरी प्रधान कार्यालय र शसस्त्र प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विपद्का घटनामा परेर अन्य ७ जना बेपत्ता छन् भने थुप्रै घाइते भएका छन् । 

देशका ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक अवरुद्ध छन् । विपद्जन्य घटनामा परेर स्याङ्जामा ३ जना, पर्वतमा २, काठमाडौँमा १ र काभ्रेमा २ जनाको मृत्यु भइसकेको छ ।

कोशीका ढोका खोलियो 

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा ३ लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ । 

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

कालीगण्डकी करिडोर अवरुद्ध 

शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको ४ ठाउँमा पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ । 

सिगासका स्थानीयलाई अन्तै सारियो 

सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् ।

नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका छन् ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।

महाकालीमा उच्च वहाव

महाकालीमा महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार (१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

नारायणीमा पनि तनाव 

नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

नारायणी नदी किनार आसपासका भरतपुर महानगरपालिका वडा नम्बर १६, ३, १७ लगायतका नदी किनारका बाढी जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

भरतपुर–३ मा रहेको सडक बालबालिका पुनस्र्थापना केन्द्र हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ । भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update