Odapalika - The Fourth Estate - चौथो अंग
बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो
फाइल तस्बिर

म्याग्दी । बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । 

लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताए । काठको पुल बगाएपछि घमी र ढाकमरका बासिन्दा आवतजावत गर्न खोलामा जोखिम मोलेर जङ्घार तर्नुपर्ने अवस्था छ । ढाकमर गाउँमा ५७ परिवारको बसोबास छ । घमी वडाको केन्द्र हो ।

नहर बगाउँदा घमीको एक हजार दुई सय रोपनीभन्दा बढी जमिनमा सिँचाइको समस्या भएको छ । स्याउ, उवा, जाै र फापर बालीमा सिँचाइ गर्न समस्या भएको छ ।  

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी नहर र पुल मर्मतको काम तत्कालै सुरु गरिने बताए । रासस  

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update