Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरका पहाडमा जताततै पहिरो, सडक अस्तव्यस्त

काठमाडौँ । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ । 

पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन् ।  

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ । जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो । 

दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ । खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो । 

बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ ।  पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ । 

यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ ।  रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो । 

डडेल्धुराको अनारखोलीमा रुख ढलेका छन् । रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ । उता, अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update