Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले चाहे सबै नेपालीलाई यसरी दिलाउन सक्छन् पेन्सन

काठमाडौँ । स्थानीय तहहरुले चाहेमा सबै नेपालीलाई पेन्सन दिलाएर बृद्धभत्तालगायतमा राज्यको सामाजिक सुरक्षा वापतको आर्थिक दायित्व कम गराउन सक्ने देखिएको छ ।

हालै कार्यान्वयनमा आएको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाबाट यो सम्भव देखिएको हो । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सरकारले योगदान रकम हालेर पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सक्ने व्यवस्था गरिएकोले संघ सरकारको सामाजिक सुरक्षा वापतको आर्थिक दायित्व खर्च पनि घट्ने देखिएको हो ।

सामाजिक सुरक्षा कोषले हालै कार्यान्वयनमा ल्याएको ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९’को दफा ५ मा अनौपचारिक क्षेत्रका श्रमिकको लागि योगदान रकम सरकारले पनि दिने भन्ने व्यवस्था छ । सो दफामा सरकार मात्रै भनिएकोले संघ, प्रदेश वा स्थानीय सरकारले रकम दिन सक्ने कोषका सहप्रवक्ता रोहित रेग्मी बताउँछन् ।

‘कार्यविधिको दफा ५ मा अनौपचारिक क्षेत्रका श्रमिकको लागि योगदान रकमको ९.३७ प्रतिशत रकम सरकारले दिने भनिएको छ । यो व्यवस्थाले संघ, प्रदेश र स्थानीय सरकारहरुलाई रकम दिन बाटो खुल्ला गरिदिएको छ,’ सहप्रवक्ता रेग्मीले वडापालिकासँग भने ।

औपचारिक क्षेत्र र स्वरोजगारमा रहेका श्रमिकको हकमा भने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । तर, अनौपचारिक क्षेत्रका श्रमिकको हकमा भने उनीहरुको न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरे पुग्छ ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ८२० रुपैयाँ तोकेको छ । अव यो न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशतका दरले हुन आउने १ हजार १९० रुपैयाँ २० पैसा सम्बन्धित श्रमिकले नै कोषमा बुझाउनु पर्छ । सरकारका तर्फबाट जम्मा गरिदिनुपर्ने ९.३७ प्रतिशतका दरले हुन आउने रकम १ हजार १३ रुपैयाँ ८४ पैसा भने स्थानीय तहहरुले जम्मा गरिदिन सक्छन् । 

स्थानीय तहहरुले यसरी रकम दिएर सामाजिक सुरक्षा कोषमा आवद्ध गरेमा सबै नेपाली पेन्सनर बन्नेछन् । किनभने औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक अनिवार्य रुपमा कोषमा आवद्ध हुनुपर्छ । यस्तै, अबदेखि स्वरोजगारमा रहेका व्यक्तिहरु पनि कोषमा आवद्ध हुने बाटो खुल्ला भएको छ भने बैदेशिक रोजगारीमा रहेका नेपाली पनि कोषमा आवद्ध गराउन थालिएको छ । कोषमा आवद्ध भएका श्रमिकलाई ६० वर्षपछि अनिवार्य रुपमा पेन्सन दिने व्यवस्था छ ।

के–के पाइन्छ सुविधा ?

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकले ४ प्रकारको सुविधा पाउँछन् । ती सुविधाहरु हुन्– (१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, (२) दुर्घटना तथा अशक्तता सुरक्षा योजना, (३) आश्रित परिवार सुरक्षा योजना र (४) बृद्ध अवस्था सुरक्षा योजना ।

यी सुविधाहरुको अलि विस्तृत जानकारी यस्तो छ– 

(१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि पाइने यो सुविधामा पनि २ प्रकारका सुविधा छन् । त्यसमा पहिलो सुविधा हो– औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना । र, अर्काे हो– योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना ।

यो योजनाअनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिक वा उसको पत्नीको उपचार गर्नका लागि वार्षिक १ लाख रुपैयाँसम्म खर्च कोषले दिन्छ । यो योजनाको राम्रो पाटो के पनि छ भने उपचार गराउँदा लागेको रकमको ८० प्रतिशत कोषले र बाँकी २० प्रतिशत सम्बन्धित व्यक्तिले तिर्नु पर्ने हो । कोषको तर्फबाट बेहोरिने ८० प्रतिशत रकम कोषले सम्बन्धित अस्पतालहरुलाई सोझै भुक्तानी दिन्छ । अर्थात उपचारमा लाग्ने खर्चको २० प्रतिशत रकम अस्पताललाई दिएर उपचार गराउन पाइन्छ ।

पुरुष श्रमिक योगदानकर्ताको श्रीमती सुत्केरी भएको अवस्थामा पनि सुविधा पाइन्छ । कोषका अनुसार महिला योगदानकर्ता भए सुत्केरी हुँदा र पुरुष योगदानकर्ता भए श्रीमती सुत्केरी हुँदा शिशु स्याहारको लागि प्रतिशिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम कोषले दिन्छ । अहिलेको व्यवस्था अनुसार एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक भनेको १० हजार ८२० रुपैयाँ हो । कोषमा आवद्ध भएका योगदानकर्ता वा उसको श्रीमतीले सुत्केरी हुँदा पनि १० हजार ८२० रुपैयाँ पाउँछन् ।

अनौपचारिक क्षेत्रका महिला श्रमिक योगदानकर्ताको लागि अर्काे सुविधा पनि छ । अनौपचारिक क्षेत्रमा काम गर्ने महिला हो र सो महिला सामाजिक सुरक्षा कोषमा आवद्ध छिन् भने उनी सुत्केरी भएको अवस्थामा ९८ दिनसम्म सामाजिक सुरक्षा कोषबाट आधारभूत न्यूनतम पारिश्रमिकको ६० प्रतिशत रकम पाइन्छ । अर्थात अहिले १० हजार ८२० रुपैयाँ न्यूनतम पारिश्रमिक भएकोले त्यसको ६० प्रतिशतका दरले हुन आउने ९८ दिनको रकम ३५ हजार ३४५ रुपैयाँ कोषबाट पाइन्छ ।

(२) दुर्घटना तथा अशक्तता सुरक्षा योजना

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकले पाउने अर्काे सुविधा हो– दुर्घटना तथा अशक्तता सुरक्षा योजना । कोषमा आवद्ध भएर रकम जम्मा गर्न थालेपछि स्वतः पाइने यो सुविधामा कुनै श्रमिक दुर्घटनमा पर्यो र उसको उपचार गराउनु पर्ने भयो भने सो उपचारमा लाग्ने ७ लाख रुपैयाँसम्मको खर्च सामाजिक सुरक्षा कोषले दिन्छ । सोभन्दा बढीको खर्च लागे मात्रै सम्बन्धित व्यक्तिले दिनुपर्छ ।

दुर्घटनामा परेर उपचार गराइरहेको समयमा काम गर्न नसकिने भयो भने पनि काम गर्न नसकेको अवधिभरको पैसा कोषले दिन्छ । कोषले न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम दिने हो । अहिले १० हजार ८२० रुपैयाँलाई न्यूनतम आधारभूत पारिश्रमिक मान्दा कोषले उपचार गराइरहेको समयमा काम गर्न सकिएन भने मासिक ६ हजार ४९२ रुपैयाँका दरले पैसा दिन्छ ।

दुर्घटनाकै कारण काम गर्न नसकिने भयो भने न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले बाचुन्जेल दिन्छ । 

(३) आश्रित परिवार सुरक्षा योजना 

सामाजिक सुरक्षा कोषमा आवद्ध भएको श्रमिकको निधन भएमा आश्रित परिवारले ३ प्रकारको सुविधा पाउँछन् । योगदानकर्ताको मृत्यू भएमा उसको श्रीमती वा श्रीमानले पेन्सन पाउने, छोराछोरीले पढ्न पैसा पाउने र योगदानकर्ताको अन्तिम संस्कार गर्न रकम पाउने हो ।

कोषमा आवद्ध भएको अनौपचारिक क्षेत्रको श्रमिकको जुनसुकै कारणबाट पनि मृत्यू भएमा उसको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम उसको पति वा पत्नीले जीवनभर पाउँछन् । र, छोराछोरी छन् भने उनीहरु १८ वर्ष नपुगुन्जेल मासिक न्यूनतम आभारभूत पारिश्रमिकको ४० प्रतिशत रकम पढ्नका लागि पाउँछन् । 

योगदानकर्ताको श्रीमान श्रीमती वा छोराछोरी रहेनछन्, तर बाबुआमा रहेछन् भने त्यस्ता बाबुआमाले योगदानकर्ता छोराछोरीको मासिक आधारभूत न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम बाचुन्जेल पेन्सनको रुपमा पाउँछन् ।

कोषमा आवद्ध भएका योगदानकर्ताको मृत्यू भएको अवस्थामा निजको आश्रित परिवारका सदस्य वा नजिकको हकवालालाई २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्च दिने व्यवस्था कोषले गरेको छ । 

(४) बृद्ध अवस्था सुरक्षा योजना

बुढेसकालमा पेन्सन पाइने भनेको यही योजना हो । सामाजिक सुरक्षा कोषमा आवद्ध भएको श्रमिकले ६० वर्षको उमेर पुगुन्जेल तोकेअनुसार (अनौपचारिक क्षेत्रका श्रमिकले आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत, अन्यले ३१ प्रतिशत) रकम कोषमा बुझाउनु पर्छ । त्यसपछि पाइन थाल्छ पेन्सन ।

धेरैको मनमा जिज्ञासा हुन सक्छ– पेन्सन चै कति पाइन्छ ? पेन्सन कति आउँछ भनेर अहिले भन्न सकिदैन । किनभने श्रमिकले जम्मा गरेको रकम, त्यसको व्याज र जम्मा भएको रकम कोषले लगानी गरेर प्राप्त भएको प्रतिफल जोडेर आउने रकम नै पेन्सनको रुपमा महिना महिनामा दिने गरिन्छ ।

यसरी पेन्सन दिनको लागि कोषले एउटा मापदण्ड बनाएको छ । सो मापदण्ड अनुसार कोषको निबृत्तिभरण योजनमा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना पेन्सनको रुपमा जीवनकालभर दिने हो ।

जस्तै, पेन्सन कोष (निबृत्तिभरण कोष) मा जम्मा भएको र कोषको लगानीबाट आएको प्रतिफल रकमसमेत जोड्दा २० लाख रुपैयाँ भयो भने त्यसलाई १६० ले भाग गर्दा हुन आउने रकम १२ हजार ५ सय रुपैयाँ मासिक रुपमा पेन्सन पाइन्छ । पेन्सनको हिसाव यही हो ।

तर, कुनै योगदानकर्ताले पेन्सन पाउने उमेर नपुग्दै मृत्यू भयो भने उसको हकवालालाई पेन्सन कोषमा जम्मा भएको रकम पनि फिर्ता दिइन्छ । र, उसको पति वा पत्नीलाई जीवनकालभर उसको आधा पेन्सन रकम दिइन्छ ।

स्थानीय तहले चाहे कति रकम तिर्नुपर्छ ?

स्थानीय तहहरुले चाहेमा आफ्नो पालिकाभित्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सक्छन् । यसको लागि पालिकाहरुले अनौपचारिक क्षेत्रका श्रमिकको आधारभूत न्यूनतम पारिश्रमिकको ९.३७ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छे हुन्छ ।

सरकारले अहिले श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ तोकेको छ । यसको ९.३७ प्रतिशत भनेको १ हजार १३ रुपैयाँ ८४ पैसा हो । पालिकाहरुले चाहेमा अनौपचारिक क्षेत्रका श्रमिकको लागि प्रतिश्रमिक १ हजार १४ रुपैयाँ तिरेर माथि उल्लेख गरिएका सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सक्छन् । 

कुनै स्थानीय तहभित्र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक ५०० जना छन् भने उनीहरुको मासिक १ हजार ८४ रुपैयाँ सो स्थानीय तहले दिनुपर्छ । यसो गर्दा सो पालिकाको मासिक खर्च ५ लाख ४२ हजार रुपैयाँ हुने देखिन्छ ।

संख्या धेरै हुन्छ ?

स्थानीय तहले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको लागि मात्रै रकम दिने हो । यो संख्या निकै कम हुन सक्छ । किनभने यो व्यवस्थामा पस्ने झ्याल नै फरक फरक छन्, सबैका लागि छन् ।

जस्तो कि निश्चित उमेरभन्दा तलको व्यक्तिलाई श्रमिक मानिदैन । नेपालको कानुनले बालश्रमलाई बर्जित गरेको छ । त्यसैले कम उमेरका व्यक्तिहरु अनौपचारिक क्षेत्रको श्रमिक हुन नसक्ने भए ।

औपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अर्काे व्यवस्था छ । उनीहरुका लागि मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । सो ३१ प्रतिशत रकममा ११ प्रतिशत सम्बन्धित श्रमिकले र बाँकी २० प्रतिशत रकम रोजगारदाताले जम्मा गर्ने हो । त्यसैले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको लागि स्थानीय तहहरुले आर्थिक दायित्व वहन गर्नु पर्दैन ।

बैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बेग्लै प्रबन्ध छ । त्यस्तै, स्वरोजगारमा रहेका व्यक्तिहरु पनि आफै सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ । औपचारिक क्षेत्रमा रहेका, बैदेशिक रोजगारीमा गएका र स्वरोजगार व्यक्तिहरुलाई पनि स्थानीय तहहरुले रकम बेहोर्नु नपर्ने भएकोले अनौपचारिक क्षेत्रका श्रमिकको संख्या कम हुन सक्छ । तर, यसको संख्या एकिन गर्न सम्बन्धित वडा कार्यालयहरुले तथ्यांक संकलन गर्न सक्छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update