Odapalika - The Fourth Estate - चौथो अंग
सिगास गाउँपालिका अध्यक्ष भन्छन्– पानी परिरहेको छ, सेती नदीको बहाव बढ्यो भने जोखिम छ

काठमाडौं । देशभर केही दिनयता परेको वर्षासँगै आएको बाढी पहिरोले जनधनको क्षति गरेपछि स्थानीय तह र प्रशासन उद्धार तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहेका छन् । 

बैतडीको सिगास गाउँपालिकामा पनि सेती नदीको बहाव बढेमा जोखिम हुने गाउँपालिका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए । अहिले पानी परिरहेको र सेती नदीको बहाव बढेमा वडा नम्बर ५ र ६ लाई असर गर्ने उनले बताए । ‘अहिले पानी परिरहेको छ । सेती नदीको बहाब बढेमा वडा नम्बर ५ र ६ लाई असर गर्छ,” उनले वडापालिकासँग भने । 

पानी परिरहेकाले शारदा नदी तथा साना साना खहरे पनि उर्लिन सक्ने भएकाले आफूहरु चनाखो भएर बसेको उनले बताए । जिल्ला प्रशासन, प्रहरी सबैसँग सम्पर्क रहेको र उद्धारका टोलीसमेत बनाइएको अध्यक्ष धामीले जानकारी दिए । 

शनिबार सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको र उनीहरु सेती नदीको बहाव घटेसँगै घर फर्किएका अध्यक्ष धामीले बताए । 

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती तथा वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा पर्ने उनले बताए । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update