Odapalika - The Fourth Estate - चौथो अंग
बाढीपहिरोबाट एक महिनामा ६२ जनाको मृत्यु, ९८७ परिवार प्रभावित 

काठमाडौं । बाढीपहिरो र चट्याङबाट एक महिनामा ६२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनामा बाढीपहिरो, चट्याङ र भारी वर्षाका कारण ६२ जनाले ज्यान गुमाएका हुन् । साथै ७४ जना घाइते भएका छन् । पछिल्लो एक हप्तामात्रै बाढीपहिरोबाट २० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार पछिल्लो एक महिनामा पहिरोबाट ३५, बाढीबाट ९ र चट्याङबाट १९ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा पहिरोबाट ३७ जना, चट्याङबाट ३५ जना र बाढीबाट दुईजना घाइते भएका छन् । 

पछिल्लो एक हप्तामै पहिरोबाट २० जना, भारी वर्षाका कारण ३ जना र बाढीबाट २ जना घाइते भएका छन् । साथै पछिल्लो एक महिनायता बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् । 

९८७ परिवार प्रभावित 

बाढीपहिरोलगायत मनसुनजन्य विपद्बाट पछिल्लो एक महिनायता ९८७ परिवार प्रभावित भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार भारी वर्षाका कारण ३९३, पहिरोबाट ३५२, बाढीबाट २४२ र चट्याङबाट १०० परिवार प्रभावित भएका छन् । 

साथै पछिल्लो एक हप्तामै ४६७ परिवार प्रभावित भएका केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भारी वर्षाका कारण ३६४, पहिरोबाट ११६ र बाढीबाट ८७ परिवार प्रभावित भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update