Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुरका मेयर भन्छन्– दुःखमा पनि सँगै छौँ, सहयोग चाहिए सम्पर्क गर्नुहोस् 
फाइल तस्बिर

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वर्षाका कारण अफ्ठ्यरो अवस्था भएमा सम्बन्धित् वडा र महानगरको हटलाइनमा फोन गरेर जानकारी दिन आह्वान गरेका छन् । 

गत शुक्रबार रातिदेखि परेको वर्षाका कारण केही स्थानमा भएको डुबानलाई निकास दिने कार्य भइरहेको बताउँदै उनले वर्षा कारण वर्षाका कारण बासस्थानमा क्षति पुगेको र त्यसबाट परिवारमा रहेका विशेष अवस्थाका सदस्यहरु प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो एकीन विवरण टिपाउन अनुरोध गरेका छन् । 

“निरन्तरको वर्षाबाट ललितपुर महानगरपालिका पनि प्रभावित भएको छ । ढल, निकासको राम्रो व्यवस्था भएको ठाउँ समेत धेरै टाढादेखि आएको भेलका कारण जलमग्न भएको अवस्था छ । जलमग्न भएको ठाउँमा निकास दिन ललितपुर महानगरले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छ,” आइतबार विज्ञप्ति जारी गर्दै प्रमुख महर्जनले आह्वान गरेका छन्, “वर्षाका कारण तपाईं बस्दै आउनु भएको बासस्थानमा क्षति पुगेको र त्यसबाट परिवारमा रहेका विशेष अवस्थाका सदस्यहरू (ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी÷ गर्भवती महिला र अपाङ्गता भएका) प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो एकिन विवरण टिपाउन हुन अनुरोध गर्दछु । र, ‘एलएमसी एप्स’मार्फत समेत सूचना पठाउन मेरो आग्रह छ ।” 

साथै ललितपुर महानगरपालिका महानगरवासीको नजिकको सरकार भएकाले अप्ठ्यारो स्थितिमा पनि आफू नगरवासीसँगै रहने भन्दै उनले  छिमेकी पालिकालाई सहयोग चाहिएमा पनि सम्पर्क गर्न भनेका छन् । 

“यसका साथै, अप्ठ्यारो परिस्थितिको सामना गर्न एक अर्काको सहयोग अपरिहार्य हुने भएकाले विपद्बाट उत्पन्न अवस्थालाई व्यवस्थित गर्न छिमेकी पालिकाहरुलाई ललितपुर महानगरपालिकाको सहयोग आवश्यक भए ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु हुन समेत अनुरोध गर्दछु,” प्रमुख महर्जनले भनेका छन् । 

Press-note-1720348133.jpg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update