Odapalika - The Fourth Estate - चौथो अंग
साढे १९ लाख भ्रष्टाचार गरेको आरोपमा सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुुन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

आफ्नै दाइलाई  थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुईपटक रकम विनियोजन गरी भुक्तानी दिँदा साढे १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तत्कालीन अध्यक्ष  कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । 

सहोदर दाजु हंश रोकाया अध्यक्ष, श्रीमती सेतु रोकाया कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गरी तत्कालीन गाउँपालिका अध्यक्ष कृष्ण रोकायासहित नौजनाविरुद्ध साढे १९ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उजुरी परेपछि गरेको अनुसन्धानका क्रममा सहोदर दाजु हंश रोकाया अध्यक्ष, श्रीमती सेतु रोकाया कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गरी आ.व. २०७६÷७७ मा ९ लाख ५० हजार र आ.व. २०७७÷७८ मा रु.१० लाख गरी कुल १९ लाख ५० हजार गाउँपालिकाको सम्पत्ति हानिनोक्सानी गरेको देखिएकाले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो १९ लाख ५०  हजार रुपैयाँ कायम गरी सोही ऐनअनुसार कैद र जरिबानासमेत माग दाबी गरी मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेको भनाइ छ । 

अख्तियारले सर्केगाड गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सव–ओभरसियर पदमबहादुर धामी र लेखापाल पूर्णप्रसाद आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।  


 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update