काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार २८ गतेभित्र मन्त्रालयको भागबन्डा सकिने एमालेका प्रमुख सचेतक महेश बर्तौैैलाले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । सोही दिनसम्म कांग्रेस–एमालेबीच मन्त्रालयको भागबन्डा सकिने बर्ताैलाले दाबी गरेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरुले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, यसको प्रतिवाद गर्दै माओवादी केन्द्रका सांसदले कसैले चाहँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने भन्दै संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री अघि बढ्ने बताए ।
सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दैै एमाले प्रमुख सचेतक बर्ताैलाले असार २८ गते बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाउने गरी छलफल हुने जानकारी दिए ।
कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डा टुंगो लगाउने उनको भनाइ छ ।