Odapalika - The Fourth Estate - चौथो अंग
अविरल वर्षाले म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्युत सेवा अवरुद्ध

काठमाडौँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा तनहुँका २ वटा स्थानीय तहमा विद्युत् सेवा अवरुद्व भएको छ । 

विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो । 

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकालगायत क्षेत्रमा गरी १५ भन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ ।  

व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलाले पोल बगाउँदा अवरोध भएको विद्युत् सेवा भने मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।

व्यास नगरपालिका–४ स्थित सिमलटार नजिक विद्युत् पोल ढालेर क्षति भएकामा मर्मत गरी छ घण्टापछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । 

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काममा अवरोध भएको छ । सुरुङ खन्ने ठाउँमा बाढी पसेकाले पानी काममा अवरोध भएको तर क्षति भएका दुईवटा पोल परिवर्तन गरी विद्युत् सेवा भने सुरू भएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update