Odapalika - The Fourth Estate - चौथो अंग
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट

काठमाडौं । हरेक वर्षको असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, केही स्थानीय तहभित्रको आन्तरिक विवाद, भ्रष्टाचारको आरोपमा जनप्रतिनिधि र कर्मचारीको निलम्बनका कारण असार २४ गते भइसक्दा पनि नीति तथा कार्यक्रम नगरसभामा पेस हुन सकेको छैन । 

सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले  आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो । विवाद भएको स्वीकारे पनि कोसँग र कस्तो विवाद भन्नेबारे धरानका उपप्रमुख अईन्द्र विक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले बताउन चाहेनन् । तर, नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उपप्रमुख अईन्द्रबीचको विवादले नीति तथा कार्यक्रम र बजेट ल्याउन ढिलो भएको स्रोतको भनाइ छ । 

असार १० भित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि असार २८ गतेभित्र बजेट ल्याउने उपप्रमुख अईन्द्र दाबी गर्छन् । ‘वृहत् छलफल र विवादका कारण ढिलो भयो । अब असार २८ गतेभित्र बजेट ल्याउँछौँ,” उपप्रमुख अईन्द्रले वडापालिकासँग भने । 

उनले असार २८ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने दाबी गरे पनि प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्रले भने असार मसान्तभित्र ल्याउने बताए । 

‘ढिलो भएकै हो । विवादले अलि ढिलो भयो । हामी असार मसान्तभित्र बजेट ल्याउँछौँ,’ भुपेन्द्रले भने, ‘बजेटको सिलिङ तोकियो, अब बजेटका प्राथमिकता टुंग्याएर असार मसान्तभित्र बजेट ल्याउँछौँ ।’

नगर प्रमुख हर्क र उपप्रमुख अईन्द्रबीचको विवाद मात्र होइन केही वडाअध्यक्षसँग प्रमुख हर्कको विवादले पनि बजेट ल्याउन ढिलो भएको हो । उपप्रमुख अईन्द्र र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्रले नीति तथा कार्यक्र ल्याउने तयारी भएको दाबी गरे पनि विवादका कारण अझै निश्चित भइनसकेको स्रोतको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update