Odapalika - The Fourth Estate - चौथो अंग
संसद्‌मा रास्वपाका सांसदको ‘धम्की’, एमाले सांसद भन्छन्– फाइल खोलेर देखाउनुस्
फाइल तस्बिर

काठमाडौं । नयाँ राजनीतिक समीकरणको असर प्रतिनिधिसभा बैठकमा पनि देखिएको छ । नयाँ राजनीतिक समीकरण बनेसँगै प्रतिनिधिसभा बैठकमा तत्कालीन सत्तारुढ दलका नेताहरूले भ्रष्टाचारको फाइल खोल्ने धम्की र उक्त धम्की पूरा गर्न एकअर्कालाई चुनौती दिइरहेका छन् । यो दृष्य आइतबार र सोमबार दुवै दिन प्रतिनिधिसभा बैठकमा देखिएको हो । 

सोमबार प्रतिनिधिसभा बैठकमा तत्कालीन सत्तारुढ दल एमालेका सांसदले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात राजनीतिक समीकरण परिवर्तन भएको आरोप लगाएका छन् । 

रास्वपाका प्रमुख सचेतक सन्तोष परिवार र सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्न रणनीतिका साथ कांग्रेस र एमालेले नयाँ समीकरण बनाएको आरोप लगाए ।शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचियो,’ उनले भने । 

यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका बेचन झालाई पक्राउ गरेपछि राजनीतिक बेचैनी सुरु भएको आरोप लगाए । 

बैठकमा उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भयो ।’ 

बेचन झा पक्राउले कांग्रेस–एमालेलाई चैन नदिने भन्दै उनले बेचन झाहरुको फाइल अगाडि बढाउन आग्रह गरे । 

‘सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर जुन चलखेल भएको छ । म अनुरोध गर्न चाहत्छु – बेचन झाहरूको त्यो फाइल अगाडि बढाइयोस् । स्मरण गर्न चाहन्छु– बेचन झाहरूले तपाईंहरूलाई चैन दिने छैनन्,’ उनले भने । 

कांग्रेस–एमालेको नयाँ गठबन्धन भ्रष्टाचारका फाइल खोल्न थालेपछि बनेको रास्वपाका सांसदको आरोपपछि एमालेका सांसदहरुले प्रतिवाद गरे । उनीहरुले अझै फाइल खोल्न चुनौती दिए । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु पर्ने खोलेर देखाउन  सरकारलाई चुनौती दिए । वर्तमान सरकार अझै केही दिन रहेका भएकाले सो अवधिभर क–कसको फाइल खोल्नुपर्ने हो, सो खोलेर देखाउन उनले चुनौती दिए । फाइल खोल्ने धम्की मात्र खोलेरै देखाउन चुनौती दिँदै उनले भने, ‘ ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् । धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन ?’

अहिले फाइल नखोल्ने हो भने पछि नयाँ सरकार बनेपछि सूचना दिनुपर्ने उनको भनाइ छ । 

यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि भ्रष्टाचारको फाइल खोल्ने धक्की नदिई खोलेर देखाउन आग्रह गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update