मुगु । पछिल्लो समयमा विकास निमार्णको क्रममा जथाभावी डोजर चलाउने प्रवृत्ति बढ्दो छ । भूगोलको अवस्था, वातावरण र माटोको परीक्षण समेत नगरी धमाधम सडक निर्माण गर्दा गाउँघरमा धेरै ठाउँहरुमा जोखिम बढ्दो छ । जस्को कारण मुगु जिल्लामा रहेका १ सय ५० भन्दा बढी बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
एक नगरपालिका र ३ गाँउपालिकामा रहेको मुगुमा २ सय भन्दा बढी बस्तीहरु मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन् ।
गत बर्ष असोज १९ गतेदेखि २४ गतेसम्म आएको ठूलो बाढीले पहिरो घर, धनजन, अन्नसमेत बगाएर लगेपछि घरबार विहीनहरु त्रिपाल मुनि खुल्ला चौरमा बस्दै आएका छन् ।
खुल्ला चौरमा बस्दै आएका छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउका जैमती रावलले भनिन्, ‘आकासमा बादल लाग्दा राति निन्द्रा लाग्दैन, स्थानीय र अन्य कुनै पनि सरकारले राहत लगायत अन्य कुनै पनि सेवा दिएको छैनन् । गाँउमा बसौं भने गाँउनै पहिरोको जोखिममा छ ।’
बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका दर्जनौ बस्ती लगायत जिल्ला भरिका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । जोखिम बस्तीमा हजारौं नागरिकहरु ज्यान धरापमा राखेर जीवन जिउन बाध्य छन । स्थानीय वडा, गाँउपालिका, नगरपालिकामा आएको बजेटले उच्च जोखिममा रहेका बस्तीहरुमा विकास निर्माणको कार्य गर्न नसक्ने हुँदा संघीय र प्रदेश सरकारले समयमा जोखिमका बस्तीहरुको सुधारको लागि ध्यान पुर्याउनु पर्ने छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ का वडाध्क्षय राजु सुनारले बताए ।
मुगु जिल्लाका भूगोल अन्य जिल्ला भन्दा निकै फरक प्रकृतिको छ । बालुवा, गिट्टी, बलौटे माटो रहेको धेरै भिरालो जमिन भएको हुँदा सामान्य आकासे पानी आउँदा बाढी पहिरो आउने सम्भवाना हुन्छ । गत बर्ष आएको बाढी पहिरोले पारेको असर यसैको उदाहरण हो ।
मुगु जिल्ला भरी पहिरोको यस्तै उच्च जोखिममा रहेका १ सय ५० भन्दा बढी बस्ती छन् । पहिरो रोकथामका लागि जिल्लामा रहेका सरोकारवाला निकायहरु समयमा लाग्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उदार समितिका अध्यक्ष मोहनबहादुर थापा बताउछन् ।