Odapalika - The Fourth Estate - चौथो अंग
पदमुक्त हुने गरी कारबाहीमा परेपछि मुकुलले भने– रविको क्लबबाट निष्काशित भएँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य मात्र बाँकी रहनेगरी मुकुल ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गरेर कारबाही गरेको छ । 

अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री र पदाधिकारीको जिम्मेवारीबाट मुक्त हुनेगरी कारबाही गरेको हो । 

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेकोनेता सोबिता गौतमले जानकारी दिइन् । 

उनले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइन् । यो निर्णयसँगै ढकाल अब रास्वपाको साधारण सदस्यको हैसियतमा मात्र रहेका छन् । 

साथै बैठकले ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिएको छ ।

पार्टीले कारबाही गरेपछि ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । 

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि...,’ ढकालले फेसबुकमा लेखेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update