Odapalika - The Fourth Estate - चौथो अंग
हेटौंडा उपमहानगरमा १ वर्षमै भित्रिए १ करोड ३० लाखको सवारीसाधन, जथाभावी हुन्छ रकमान्तर

काठमाडौं । मकवानपुरस्थित हेटौंडा उपमहानगर पालिकाले एक वर्षमा १ करोड ३० लाखभन्दा बढीको सवारीसाधन खरिद गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा दुईपांग्रे सवारीसाधन १२ वटा, सानो टिप्पर एकवटा र दुईवटा ठूलो टिप्पर खरिदमा १ करोड, ३० लाख ७८ हजार ४८२ रुपैयाँ ५१ पैसा खर्च गरेको महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनका अनुसार दुईपांग्रे सवारीसाधनमा १२ वटा मोटरसाइकल खरिदमा ३२ लाख ४ हजार १८१ रुपैयाँ तथा एकवटा सानो टिप्पर किन्दा २२ लाख २ हजार ६५५ रुपैयाँ खर्च गरिएको देखिएको छ । साथै ठूलो टिप्पर खरिदमा ७६ लाख ७१ हजार ६४६ रुपैयाँ खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । 

नियमविपरीत रकमान्तर

आर्थिक वर्ष २०७९/०८० मा हेटौंडा उपमहानगरले साढे २६ करोडभन्दा बढी रकम नियमविपरीत रकमान्तर गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा औँल्याइएको छ । पटक पटक कानुनविपरीत हुने रकमान्तरले वित्तीय अनुशासन कायम नहुने भएकाले यस्तो कार्यलाई नियन्त्रण गर्न महालेखाले सचेत गराएको छ । 

हेटौंडा उपमहानगरले ऐन तथा नियमावलीको व्यवस्थाविपरीत रकमान्तर गर्नुपर्ने कारण तथा अवस्था उल्लेख नगरी एकपटक आवश्यकता पहिचान गरी ३१६ योजना तथा कार्यक्रमको २६ करोड ५० लाख ५ हजार ८९१ रुपैयाँ रकमान्तर गरेको प्रतिवेदनमा उल्लेख छ । आवश्यकताको आधारमा उक्त संख्याको योजना छनौट गरी रकमान्तर गरेको देखिएको प्रतिवेदनमा भनिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update