Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी र राहदानी प्रकरणमा रवि लामिछानेमाथि पार्टीभित्रबाटै छानबिन गर्नुपर्ने माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महासचिव मुकुल ढकालले सहकारी ठगी र दोहोरो राहदानी प्रकरणको विषयमा सभापति रवि लामिछानेमाथि छानबिन गर्न पार्टीभित्रबाटै स्वतन्त्र समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

पार्टीले महासचिव, प्रवक्ता र केन्द्रीय सदस्यबाट मुक्त गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले सहकारी र राहदानीको प्रकरणमा रविमाथि छानबिन गर्न पार्टीभित्रबाट स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेका हुन् । 

सहकारी प्रकरणमा सर्वाेच्च अदालतले छानबिन गर्नुपर्ने राय दिएको तथा पार्टीको जीवनसँग जोडिएको राहदानी दुरुपयोगको सम्बन्धमा पनि छानबिन गर्नुपर्ने भएकाले यसका लागि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनको भनाइ छ । राहदानी दुरुपयोगमा दोषी देखिए चुनाव लड्न नपाउने भएकाले रविमाथि छानबिन गर्नु आवश्यक रहेको उनको मत छ । 

साथै पार्टीभित्र आर्थिक अनुशासन र पारदर्शितासमेत नरहेको भन्दै उनले आफूलाई जनताको आवाज उठाउँदा कारबाही भएको प्रतिक्रिया दिए । अब जनतामाझ ‘प्रस्ताव अभियान’ लिएर जाने र जे सुझाव र सल्लाह आउँछ सोहीअनुसार अघि बढ्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update