Odapalika - The Fourth Estate - चौथो अंग
प्राविधिक शिक्षामा बिदुर नगरपालिकाको छात्रवृत्ति कार्यक्रम 

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले नगरभित्रका जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ ।

नगरको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो । 

कार्यविधिअनुसार हाल १५ जनाले पूर्ण छात्रवृत्तिमा पशु विज्ञान र बाली विज्ञान अध्ययन गरिरहेको मेयर राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘नगरका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने’ सम्बन्धी कार्यविधि–२०७७ अनुसार छात्रवृत्ति रकम प्रदान गरिएको हो । उक्त कार्यक्रममार्फत अध्ययनरत तह अवधिभर लाग्ने सम्पूर्ण शुल्क नगरपालिकाले उपलब्ध गराउने विद्यार्र्थीसँग प्रतिवद्धता सम्झौता गरिएको छ ।

उत्पादित जनशक्तिले एक वर्ष पालिकामा नै सेवा गर्नुपर्न शर्तले पालिकाले आफ्नै लगानीमा उत्पादित जनशक्ति प्राप्त गर्ने र अध्ययनपश्चात् रोजगारको सुनिश्चित भएको गरिएको मेयरको भनाइ छ ।

छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीले तीनवर्षे डिप्लो तहको अध्ययन गर्नेछन् । विदुर–१ ढुङ्गेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्नेलाई यो सुविधा दिइएको छ । 

चालु शैक्षिक सत्रमा उक्त शिक्षालयका पहिलो ब्याजका ६जना विद्यार्थीलाई (दोस्रो र तेस्रो शैक्षिक सत्रको शुल्कबापत ३ लाख ३० हजार र दोस्रो ब्याजका ९ जना विद्यार्थीलाई पहिलो र दोस्रो शैक्षिक सत्रको शुल्कबापत ३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको छ ।

विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक, इञ्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update