Odapalika - The Fourth Estate - चौथो अंग
...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । 

मेयरको कार्यकक्षमा भएको भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बोबीच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौँको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइ लगायत विषयमा कुराकानी भएको थियो । 

भेटमा मेयर शाहले, सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगरबीचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे ‘दुई देशबीच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ । कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिबीच ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ । मानव संशाधन विकास देखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ,’ मेयर शाहले भने । कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय विमान सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने उनको प्रस्ताव छ ।  त्यस क्रममा उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखे ।

भेटका क्रममा राजदूत पाथिरानाले, महानगरपालिकाले गएको वैशाख र जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ ।’

वुद्ध कालदेखि नेपाल र श्रीलंकाबीच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश विच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको बताए । 

कुराकानीका क्रममा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्धनमा जोड दिइएको थियो । 

भेटमा आपसी सद्भाव प्रतीकका लागि मायाको चिनो आदान प्रदान गरिएको थियो । शाहले बुद्धको प्रतिमा दिए भने राजदूत पाथिरानाले श्रीलंकाको प्रसिद्ध चिया दिए । 

भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयबाट कोपिला खतिवडासहित अधिकारीहरु सहभागी थिए । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update