Odapalika - The Fourth Estate - चौथो अंग
गाउँपालिका अध्यक्षको सनाखतपछि यसरी पाइन् मीराले नागरिकता 

काठमाडौं । सप्तरी छिन्नमस्ता गाउँपालिका– ३ कि मीरा देवीले करिब २५ वर्षको संघर्षपछि नेपाली नागरिकता पाएकी छन् । २५ वर्षअघि सप्तरी साविक छिन्नमस्ता गाविस–१ का रामलखन मण्डलसँग विवाह गरेर आएकी उनले नेपाली नागरिकता प्राप्त गर्न अदालतको आदेशदेखि गाउँपालिका अध्यक्षको सनाखतसम्म गराउनु पर्‍यो । 

छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको प्रयास र उनको सनाखतबाट बुधबार मीराले वैवाहिक अंगीकृत नागरिकता पाएकी हुन् । ‘तीन महिनादेखिको आफ्नो प्रयास हिजो सफला भएको छ । मीरा देवीलाई नागरिकता दिलाउन सफल भएँ,’ अध्यक्ष चौधरीले वडापालिकासँग भने । 

यसरी पाइन् नागरिकता 

२५ वर्षअघि भारतको बिहारस्थित मधुवनी जिल्लाको महथौरबाट राम लखनसँग विवाह गरेर सप्तरी आएकी उनको विवाहको चार वर्षमै श्रीमान् सम्पर्कविहीन भए । सम्पर्कविहीन हुँदा मानसिक समस्या देखिएका श्रीमान्को अवस्थाबारे अहिलेसम्म अत्तोपत्तो छैन ।  एक छोरा र एक छोरी हुर्काउने जिम्मेवारी उनकै काँधमा आयो । उनले छिन्नमस्ता मन्दिर नजिक फूल बेचेर छोराछोरी हुर्काइन् ।

नागरिकता नहुँदा उनले कयौँ ठक्कर र हन्डर खाइन् । करिब तीन महिनाअघि उनको संघर्षबारे गाउँपालिका अध्यक्ष चौधरीले थाहा पाए । यसपछि अध्यक्ष चौधरीले उनलाई नागरिकता दिलाउन पहल थाले । ‘मैले तीन महिना अघि थाहा पाएँ । मीरा देवीले १२ वर्ष अघि नै भारतीय नागरिकता त्यागेको प्रमाण थियो,’ अध्यक्ष चौधरीले भने, ‘तर, नेपाली नागरिकता नपाउँदा छोराछोरीलाई पढाउनसमेत समस्या भएको रहेछ । अनि मैले उनलाई नागरिकता दिलाउन पहल थालेँ ।’ 

mira-devi-1-1720680660.png
 

मीरालाई नागरिकता दिलाउन अध्यक्ष चौधरीले उनको माइतीगाउँबाट आवश्यक कागजात लिन पालिकाका कर्मचारी नै भारत पठाएको जानकारी दिए । ‘मैले पालिकाबाट कर्मचारी नै भारत पठाएँ । प्रहरी मुचुल्कादेखि सरजमिन गराएँ,’ उनले भने । 

नागरिकता दिलाउन माग गर्दै मीरा देवीले जिल्ला अदालत सप्तरीमा रिट हालिन् । यसमा पनि अध्यक्ष चौधरीले भूमिका खेले । मीराको मागअनुसार नै दुई महिनाअघि अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालय सप्तरीलाई आवश्यक प्रक्रिया पूरा गरेर तुरुन्त नागरिकता दिन परमादेश जारी गरेको अध्यक्ष चौधरीले जानकारी दिए । तर, अदालतको आदेश भए पनि प्रशासनले नागरिकता दिएन । यसपछि बुधबार मीरासँगै पालिका अध्यक्ष चौधरी जिल्ला प्रशासन पुगे ।

अध्यक्ष चौधरीले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग छलफल गरे । ‘अदालतको आदेश र प्रमाणको आधारमा मीराले वैवाहिक अंगीकृत नागरिकता पाउनुपर्ने जानकारी गराएँ,’ अध्यक्ष चौधरीले भने, ‘त्यसपछि उहाँ (मीरा)ले नागरिकता पाउनुभयो । सीडीओ मंग्रातीको हातबाटै नागरिकता पाइन् ।’ नागरिकता पाएपछि मीराले खुसीको आँशु बगाइन् ।

उच्च शिक्षा अध्ययन गर्नबाट बन्चित मीरा देवीका एक छोरा र छोरीले पनि अब अध्ययन गर्न र नागरिकता प्राप्त गर्ने बाटो खुलेको अध्यक्ष चौधरीले बताए । अदालतको आदेश हुँदासमेत आफ्नो सनाखत खोज्ने प्रशासनको कार्यप्रति अचम्ममा परेका अध्यक्ष चौधरी मीराले नागरिकता पाएकाले यसलाई सामान्य रुपमा लिएको बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update