Odapalika - The Fourth Estate - चौथो अंग
भद्रकाली मन्दिरको पुनःनिर्माण सुरु, नेवारी शैलीमा बन्ने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु गरेकोे छ । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरिन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गरे । 

जग राख्नुअगाडि लुमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको जेठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ । 

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । 

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ । 

शिलान्यास पछि बोल्दै उपप्रमुख डंगोलले भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताइन् । 

यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगत, वडा ११, २१ र २२ का अध्यक्षहरु क्रमशः हीरालाल तण्डुकार, उदय चुडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा सबैबाट स्वीकार भएको स्मारक भएको उल्लेख गरे ।

भद्रकाली वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार यो वहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माणको काम हो ।  

मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौत्तम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् । 

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।  

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update