Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना 

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न १०६ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । 

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो  । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ । 

 गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी १०६ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । प्रतिपरिवार ७५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ । 

वितेका २ आर्थिक वर्षमा यो कार्यक्रममा पालिकाले ७० लाख रुपैयाा खर्च गरिसकेको छ ।   गाउँपालिकाले वडा नं १ र २ का ८÷८ घर, वडा नं ३ मा ५ घर, वडा नं ४ मा १२  घर, वडा नं ५ मा ८ घर, वडा नं ६ मा ९ घर, वडा नं ७ मा ६ वटा घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं ८ मा ५ घर र वडा नं ९ मा ८ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो । 

वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका स्थानीय जस्ताको छानो पाएपछि खुसी छन् । बर्र्सातको समयमा चुहिने छानोमा समस्या हुने भए पनि गाउँपालिकाले जस्ताको छानो दिएपछि सहज भएको हतुवागढी–१ की स्थानीय चिनिमाया खड्का बताउँछिन् । 

आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसक्ने परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो । गाउँपालिकाले विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत सवै (९वटै) वडाका नागरिकलाई जस्ताको छानो दिएको छ । केन्द्र सरकारबाट फुसको छानो हटाउने कार्यक्रम निरन्तर नआएपछि गाउँपालिकाले आफँै बजेट विनियोजन गरेर विपन्न परिवारको फुसको छानो हटाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । 

यो आव र आगामी वर्षको लागिसमेत केन्द्र सरकारबाट यो शीर्षकमा बजेट नआएको अध्यक्ष राईको भनाइ छ । यो वर्ष वित्तीय समानीकरणमा आउने बजेट घटेको कारण फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनको भनाई छ । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष राईको भनाइ छ । 

बर्षायाममा कष्टर जीवन बिताउँदै आएका स्थानीयलाई जस्ताको छानो फेरिदिएपछि सहजता थपिएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । वडाका अतिविपन्न, एकल महिला, दलित आर्थिक रुपमा कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखेर छानो वितरण गरिएको उनको भनाइ छ । 

स्थानीय तह सञ्चालनमा आएपछि विभिन्न आर्थिक वर्षमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update