Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डलाई पाँचौँपटक (अ)विश्वासको मत, यस्तो छ संसदीय अंकगणित 

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार (अ)विश्वासको मत लिँदै छन् । गत शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै यही असार २८ गते (भोलि) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूचीमा समावेश गर्न आग्रह गरेका थिए । 

सत्ता सम्हालेपछि यो पाँचौँपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डले विश्वासको भन्दा निकै बढी अविश्वासको मत पाउने देखिएको छ । 

२०७९ पुस १० गते सत्तारोहण गरेपछि चारपटक विश्वासको मत लिएर सत्ता जोगाएका प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्ताव करिब दुई तिहाइ बहुमतले अस्वीकृत हुने आकलन गरिएको छ । 

बिहीबार अपरान्ह ४ बजेसम्मको राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई दुई तिहाइले मात्र अस्वीकृत गर्दैन क्रमशः घट्दै गएको समर्थनले सत्ता च्यूत गराएको पुष्टि पनि गर्छ । 

पछिल्लो विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन घट्दै जाँदा पनि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दललाई मनाउन सकेनन् । र अन्ततः प्रधानमन्त्री प्रचण्ड शुक्रबार करिब दुई तिहाइ बहुमतको अविश्वासका साथ सत्ताबाट बहिर्गमन हुँदै छन् । 

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ र दुई तिहाइका लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर, प्रधानमन्त्री प्रचण्डले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा भन्दा बढी करिब दुई तिहाइ मत विपक्षमा पर्ने देखिएको छ । 

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्दै अधिकांश राजनीतिक दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् भने केहीले आधिकारिक निर्णय गर्ने तयारीमा छन् । 

प्रधानमन्त्री प्रचण्डलाई ८८ सांसद रहेको कांग्रेस र ७८ सांसद रहेको एमालेले विश्वासको मत नदिन आफ्ना सा‌ंसदलाई ह्वीप नै जारी गरिसकेकाे छ । साथै १४ सांसद रहेको राप्रपाले पनि विश्वासको मत नदिने भएको छ । ७ सांसद रहेको जसपा, ५ सांसद रहेको जसपा नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । यसैगरी, ६ सांसद रहेको सिके राउतको जनमत पार्टी र ४/४ सांसद रहेका लोसपा र नागरिक उन्मुक्तिले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भएका छन् । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको ३२ सांसद छन् भने २१ सांसद रहेको रास्वपा, १० सांसद रहेको एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेछन् । बिहीबारसम्मको गणितले प्रचण्डले ६३ सांसदको मात्र विश्वास जित्ने पक्का गरेका छन् । यो संख्या कूल सांसदको २३ प्रतिशत मत मात्र हो । 

एक एक सांसद रहेका मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीसहित दुई स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय सार्वजनिक गरेका छैनन् । 

डेढ वर्षको बीचमा १९औँपटक मन्त्रिपरिषद् हेरफेर र चारपटक विश्वासको मत लिएर सत्ता जोगाएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत प्राप्त गर्न नसकेर बहिर्गमन हुँदैछन् । 

गत जेठ ७ गते चौथोपटक विश्वासको मत लिएर संसद्बाट बाहिरिँदा उनले आवश्यक परे १० पटकसम्म विश्वासको मत लिने बताएका थिए । तर, ५४ दिनमै उनले सत्तासाझेदार दल एमालेलाई टिकाउन नसक्दा पाँचौँपटक विश्वासको मत लिने अवस्थामा पुगेका हुन् । 

कहिले कति मत पाए ?

यसअघि प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १० गते पहिलोपटक विश्वासको मत लिएका थिए । यसपछि उनले दोस्रोपटक २०७९ चैत ६ गते, तेस्रोपटक २०८० फागुन ३० र चौथोपटक २०८१ जेठ ७ गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक विश्वासको लिँदा प्रस्तावको पक्षमा २६८, विपक्षमा २ र तटस्थमा शून्य मत परेको थियो । त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथोमा विश्वास गुमाउँदै आएका प्रधानमन्त्री प्रचण्डले पाँचौँमा आइपुग्दा सत्ताबाट हट्नुपर्ने अवस्था आएको छ । दोस्रोपटक विश्वासको मत लिँदा १७२ सांसदको समर्थन पाएका थिए भने ८९ सांसदले विपक्षमा मतदान गर्दा एक सांसद तटस्थ बसेका थिए । 

तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको समर्थन, ११० सांसदले विपक्षमा र एक सांसदले तटस्थमा मतदान गरे । चौथोपटक प्रधानमन्त्री प्रचण्डले संसदमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७, विपक्षमा शून्य र तटस्थमा १ मत परेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update