Odapalika - The Fourth Estate - चौथो अंग
टिकटक खुला गर्ने कांग्रेस–एमाले गठबन्धनको तयारी, सरकार गठनलगत्तै निर्णय 

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने भएका छन् । 

सरकार बन्नुअघि नै यसबारे प्रतिक्रिया दिनु हतार हुने भएकाले नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक प्रभावशाली नेताले जनताको वाक स्वतन्त्रतालाई ध्यानमा राख्दै अब बन्ने सरकारले टिकटकलाई खुला गर्ने जानकारी दिए । 

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने ती नेताको विश्वास छ । 

‘भोलि विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनेछन्,’ उनले भने, ‘त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।’ 

कांग्रेस–गठबन्धनको सरकार बनेपछि टिकटक खुला हुने उनले दाबी गरे । कांग्रेस र एमाले लोकतन्त्र र वाक स्वतन्त्रताका लागि लडेको पार्टी भन्दै उनले जनतामाझ लोकप्रिय बनेको सामाजिक सञ्जाल बन्द गर्नु अनुचित हुने भएकाले खुला गरिने बताए । 

गत कात्तिक २७ गते प्रचण्ड सरकारले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि टिकटकले नेपालको कानुन मान्ने भन्दै खुला गर्न पटक पटक नेपाल सरकारलाई पत्राचारसमेत गरेको छ । साथै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिटसमेत परेको छ । 

यी सबैलाई ध्यानमा राखेर टिकटक खुला गरिने ती नेता बताउँछन् । सामाजिक सञ्जालमा प्रतिबन्ध होइन व्यवस्थित गर्नुपर्ने उनको बुझाइ छ । सामाजिक सञ्जालमा सक्रिय नेता नै प्रधानमन्त्री बन्ने भएपछि टिकटकमाथिको प्रतिबन्धबारे के हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन व्यवस्थित गर्नुपर्छ । अब बन्ने सरकारले टिकटक खुला गर्छ । सम्भवतः सरकार गठनलगत्तै टिकटक खुला गर्ने निर्णय हुन सक्छ ।’ 

अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले लिने कांग्रेस–एमालेबीच सहमति भएको छ । अध्यक्ष ओली आफैं सञ्जालमा सक्रिय हुने नेतामा पर्छन् । उनको भेरिफाइड टिकटक एकाउन्ट पनि छ । यसअघि प्रधानमन्त्री हुँदा ओलीले टिकटक एकाउन्ट खोलेका थिए । अध्यक्ष ओलीको ‘केपी बा’ युट्युब च्यानलसमेत छ ।

अध्यक्ष ओली स्वयं सामाजिक सञ्जालमा सक्रिय रहने भएकाले यसलाई प्रतिबन्ध होइन व्यवस्थित गर्नुपर्छ भन्ने विचार रहेको ती नेताले बताए । कांग्रेसका नेताहरु पनि टिकटक प्रतिबन्ध लगाउन नहुने पक्षमा रहँदै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update