Odapalika - The Fourth Estate - चौथो अंग
त्रिसुलीमा खसेको ६५ यात्रु सवार २ वटा बस अझै भेटिएन, यात्रुको अवस्था अज्ञात

काठमाडौँ । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  बस र सो बसमा सवार यात्रु खोजन ठूलो संख्यामा गोताखोर र प्हरी परिचालन गरिएको छ । 

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए ।  बसमा ६५ जना सवार रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए  । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ ।

यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन् । 

शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका हुन् । 

‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु।  बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु। साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु,’ दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update