Odapalika - The Fourth Estate - चौथो अंग
बाढी र पहिरोमा परेर १४ जनाको गयो ज्यान, पहिरोले अधिकांश राजमार्ग अवरुद्ध 

काठमाडौँ । निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा एकैदिन ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पोखरा महानगरपालिका १९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको एसपी थापाले बताए ।

घटना परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार,१५ वर्षीया प्रशना परियार, २० वर्षिया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको हो । सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पछाडिबाट खसेको पहिरोमा परी ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिए । ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र्पुयाइएको छ ।

कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयमार्फत सकुशल उद्धार गरिएको एसपी थापाले बताए ।

३ जनाको मृत्यु 

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको आरखोलामा शुक्रबार बिहान झरेको पहिरोले पुरिएको तुलप्रसाद न्यौपानेको घर पुर्दा घरभित्र सुतेका अन्दाजी तुलप्रसाद न्यौपाने र उनकी श्रीमती बालकुमारीको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ठाउँठाउँमा पहिरो 

चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–४ तुरतुरेमा खसेको पहिरोले तनहुँ, लमजुङ र मनाङ आवतजावत अवरुद्ध भएको छ ।

तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति गएको पहिरोले क्षति पु¥याएको छ । पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष, पार्किङ गरी राखिएको गाडीमा क्षति पुगेपछि सेवा प्रवाहमा कठिनाई भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा शुक्रबार बिहान खसेको पहिरोका कारण विमलनगर आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै पनि शुक्रबार बिहान पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारणे राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर भत्किएर अवरुद्ध बनेको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक भाँसिएपछि कोरिडोर यही असार २६ गतेदेखि अवरुद्ध बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update