Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस र एमालेलाई मध्यरातमा मिलाउने को हो त्यो शक्ति ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले यही असार १७ गते मध्यराति नयाँ सरकार गठन गर्ने सहमति गर्दै सत्ता समीकरण बनाएका थिए । संविधान संशोधनको उद्देश्यसहित राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै बनेको कांग्रेस–एमाले गठबन्धनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर प्रश्न उठाउँदै आक्षेपसमेत लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देशका दुई ठूला दल मिल्न मध्यराति कुर्नुको कारण सोधे । भ्रष्टाचार र अनियमितताको फाइल खोल्न थालिएपछि सुशासनबाट डराएर कांग्रेस र एमालेलाई ‘शक्ति’ले मिलाएको दाबी गरे । उनले त्यो शक्तिको को हो भनेर खुलाएनन् । तर, सम्बोधनका क्रममा पटक पटक ‘शक्ति’ले मिलाएको दाबी उनले गरे । 

कांग्रेस–एमाले गठबन्धन बनेसँगै देश माफियाको हातमा जान लागेको भन्दै जनतालाई जाग्न आह्वान गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो । यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।’ 

आफूलाई कुनै पनि भ्रष्टाचार र अनियमिताको ट्याग नलागेको भन्दै उनले भने, ‘कुनै यती, कुनै ओम्नी, कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो । एउटा तप्काले देशको जग्गा लुटे पनि हुने भयो । तस्करी गरेर कानून मिचे पनि हुने भयो । यसले लोकतन्त्रमाथि नै प्रश्न उठाइसकेको थियो । त्यो भाष्य चिरेको छ ।’

तर, कांग्रेस–एमाले मिलाउन ‘शक्ति’काबारे पटक पटक बोले पनि स्पष्ट भने नपारेका प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र अनियमिता गर्ने तथा माफियाले मिलाएको संकेत भने गरे । प्रधानमन्त्री प्रचण्डले ललिता निवास, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरसम्मको जग्गा खोज्न थालेपछि त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको जिकिर गरे । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update