Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीले प्रचण्डले गुमाए प्रतिनिधिसभाको विश्वास, नयाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका हैसियतमा प्रतिनिधिसभाका ६३ सांसदको मात्र विश्वासको मत पाएका छन् । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि छलफल भएपछि  गरिएकाे मतविभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छु भन्ने प्रस्तावकाे पक्षमा ६३ मात्र सांसदको मत परेको छ । 

उनलाई विश्वासको मत दिन्न भन्ने प्रस्तावकाे विपक्षमा १९४ सांसदको मत परेको छ । योसँगै प्रधानमन्त्री प्रचण्डको १९ महिने सरकार यात्रामा पूर्णविराम लागेको छ । 

प्रचण्डलाई पाँचौँपटक (अ)विश्वासको मत, यस्तो छ संसदीय अंकगणित 

संसदबाट विश्वासको मत नपाएसँगै उनी प्रधानमन्त्रीबाट मुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा उनको दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले मात्र मत दिएका छन् । 

विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति,  लोसपालगायतका दलले मत दिएका छन् । 

प्रचण्डले संसदको विश्वास गुमाएसँगै अब राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि दुई वा दुईभन्दा वढी दलको बहुमतप्राप्त दलको नेतालाई आह्वान गर्नेछन् । 

कांग्रेस र एमालेसहितका दलहरुबीच भावी प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई अघि सार्ने सहमति भइसकेको छ । 

दलहरुबीच दुई तिहाइ सांसदको हस्ताक्षरसहित ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै राष्ट्रपतिसमक्ष बुझाउने पत्र तयार भइसकेको छ । 

संसदले प्रधानमन्त्रीले विश्वासको मत नपाएको जानकारी राष्ट्रपतिलाई गराएपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update