Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमा मनपरी : भुक्तानीमा कमिसनको खेल, कुरा मिलेपछि धमाधम चेक 

सिरहा । ‘म प्रमुख प्रशासकीय अधिकृत हुँ । मलाई त चेक बनाउने कोठामा छिर्नै दिएनन् । पालिकाका अध्यक्ष र लेखापालले मेरो फोन पनि उठाएनन् । मसँग सम्पर्कविच्छेद गरेर अध्यक्ष र लेखापालले मात्र चेक काटे । कुन फाइल सदर गर्ने कुन नगर्ने मलाई सोधिएन । अनि कसरी चेकमा हस्ताक्षर गर्नु ? अध्यक्षले जे कमाण्ड दिन्छ मैले त्यसै अनुसार काम गर्ने हो र ? मैंले पदीय मर्यादा अनुसार विवेक प्रयोग गर्न नपाउने ? त्यसकारण म कार्यालय छोडेर घर आएँ । लेखापालको मात्र हस्ताक्षरले चेक साटिन्छ भने साटुन् । म चेकमा हस्ताक्षर गर्दै गर्दिन ।’ 

सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाको यही भनाइबाट पालिकाको व्यथिति पुष्टि हुन्छ ।

चेक काट्ने कोठामा अध्यक्ष र लेखापालले छिर्न नदिएको भन्दै उनी असार २४ गते साँझ रिसाएर कार्यालयबाट महोत्तरी जिल्लास्थित आफ्नो घरतर्फ हुकिएका थिए । असार २५ गते उनीसँग सम्पर्क गर्दा उनले आफ्नो पीडा पोखेका थिए ।

यता चेकमा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर नभएको कारण उपभोक्ता समिति तथा बिक्रेताहरुलाई चेक वितरण गर्न नपाउँदा अध्यक्ष शिवजी यादव तनावमा परेका थिए । भुक्तानी वापतको चेक लिन आउनेको भीड र दवाव थेग्नै नसक्ने अवस्थाको थियो । औरही गाउँपालिका कार्यालय अगाडि दिनहुँ मानिसहरुको भीड लाग्ने र भुक्तानीका लागि नारावाजी  भइरहेको थियो ।

चेकमा हस्ताक्षर नगरे प्रमुख प्रशासकीय अधिकृतमाथि कानूनी कारवाही अघि बढाउँछु भनेर धम्की दिएका अध्यक्ष शिवजी यादवले अन्नतः सम्झौताको बाटो रोजे । लेखापालको मात्र हस्ताक्षरयुक्त चेक नसाटिने, फाइलमा टिप्पणी र आदेश सदर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएको र टिप्पणी सदर नगरी चेक काट्दा लेखापाल पनि कारवाहीमा पर्ने भएपछि उनीहरु बाध्य भएर कमिसन बाँडफाँडको सहमतिमा आउनु परेको थियो । 

असार २५ गतेदेखि नै अध्यक्ष यादव  र लेखापाल देवेन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई फकाउन थालेका थिए । अध्यक्ष यादव र लेखापाल यादवले जति नै अनुनय विनय गरेपनि प्रमुख प्रशासकीय अधिकृत झा चेकमा हस्ताक्षर गर्न तयार भएनन् ।

आर्थिक वर्षको खाता बन्द हुने अन्तिम दिन असार २४ गते राति १२ बजेसम्म औरही गाउँपालिकाको कार्यालय सुनसान थियो । अध्यक्ष र लेखापालद्वय सम्पूर्ण फायल लिएर सिरहा सदरमुकामस्थित एउटा गोप्य  कोठामा बसेर चेक काट्न थालेका थिए । प्रमुख प्रशासकीय अधिकृत झाले त्यहाँ जान चाहे पनि उनलाई जान दिइएन । उनको फोन पनि उठाइएन ।   

स्थानीय पत्रकार सन्तोष यादव भन्छन्,‘यो सबै कमिसनको झमेला हो । कमिसन बाँडफाँडमा कुरा नमिलेको कारण रिसारिस भएको हो । पत्रकार यादव भन्छन्, ‘असार २८ गते साँझ अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल यादव तीन जनाबीच जनकपुरमा वार्ता भयो । कमिसनको बाँडफाँड प्रतिशतमा कुरा मिल्यो । असार २९ गते बिहानै झा कार्यालयमा आएर चेकमा हस्ताक्षर गरिदिए ।’

सिरहाकै अर्का पत्रकार शिवदयाल यादव भन्छन्, ‘अध्यक्ष शिवजी यादवले लेखापाललाई मिलाएर कमिसनमा आफ्नो वचस्र्व कायम गर्न खोजेका थिए । तर उनको दाउ सप्रिएन । प्रमुख प्रशासकीय अधिकृत झाले आफ्नो भाग लिएरै छोडे ।’

असार २९ गतेबाट औरहीमा चेक वितरण सुरु भएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झा, अध्यक्ष यादव र लेखापाल यादवसँग सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् । 

नेपाल न्यूज बैंक

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update