Odapalika - The Fourth Estate - चौथो अंग
सिमताल बस दुर्घटना : सबै यात्रु नभेटिने सुरक्षा संयन्त्रको निष्कर्ष, विदेशबाट गोताखोर आवश्यक छैन

काठमाडौं । सुरक्षा संयन्त्रले चितवनको सिमतालमा भएको बस दुर्घटनाका यात्रु सबै नभेटिने र विदेशबाट गोताखोर आवश्यक नरहेको निष्कर्ष निकालेको छ । 

गत शुक्रबार पहिरोले दुईवटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । सुरक्षाकर्मीसहितको टोलीले यात्रु र बस खोजीका लागि प्रयास गरिरहेका छन् । तर, बसमा सवार सबै यात्रु नभेटिने निष्कर्षमा पुगेको सुरक्षा संयन्त्रको उच्च स्रोतले जनाएको छ । 

बस त्रिशूली नदीमा खसेदेखि लगातार उच्च पानीको बहाव रहेको र धमिलो पानीका कारण बसका सबै यात्रु नभटिने निकर्षमा पुगेको सुरक्षा संयन्त्रको एक उच्च अधिकारीले वडापालिकासँग भने ।

‘हामी निरन्तर खोजीमा छौँ । तर, सबै यात्रु नभेटिनेमा हामी निष्कर्षमा भने पुगका छौँ । धमिलो पानी र पानीको उच्च बहावका कारण सबै यात्रु नभेटिने निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘तर, खोजी भने जारी राख्नेछौँ ।’ 

यात्रु र बसको खोजीका लागि विदेशी गोताखोर आवश्यक नरहेको निष्कर्षमा पनि निकालिएको छ । ‘हाम्रो गोताखोर सक्षम छन् । विदेश गोताखोर आवश्यक नरहेको निष्कर्ष पनि निकालेका छौँ,’ ती अधिकारीले भने । 

हालसम्म पाँचजनाको शव फेला पारिएको छ । तर, तीनजनाको मात्र सनाखत भएको छ । बाँकी दुई बसका यात्रु हुन् या होइनन् भन्ने एकीन छैन । यसबारे सनाखतपछि मात्र खुल्ने प्रहरीको भनाइ छ । 

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार बिहान काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए । सडकमाथिबाट खसेको पहिरोले ती बसलाई त्रिशूलीमा खसालेको थियो । 

गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा २७ जना यात्रु सवार थिए । तीनजना पौडिएर बाँच्न सफल भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update