Odapalika - The Fourth Estate - चौथो अंग
ठूलीभेरी नगरको बजेटका ५ उद्देश्य, वडा अध्यक्षलाई २५ लिटर पेट्रोल, यार्सागुम्बामा बिक्री कर 

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमसहित बजेट नगरसभाबाट पारित गरिसकेको छ । यही असार १० गते पारित बजेट ४८ करोड २ लाख ४८ हजार २४ रुपैयाँ बराबर छ । 

बजेटमा पाँच उद्देश्यक लिइएको छ । जसअनुसार रोजगारी सृजना गर्ने, गुणस्तरीय सामाजिक विकास र सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने, कृषिमा व्यावसायिकताको विकास गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने र सुशासन कायम गरी आम नागरिकका परिवर्तनको अनुभूति दिलाउने पाँच उद्देय रहेको छ ।

वडा अध्यक्षलाई पेट्रोलको सुविधा 

ठूलीभेरीले सवारीसाधन भएका वडा अध्यक्षलाई पेट्रोलको सुविधा दिने भएको छ । पारित बजेटमा यसका लागि बजेट विनियोजन गरिएको छ । नगरसभामा १ नम्बर वडाका वडा अध्यक्ष तथा नगरसभा सदस्य तेजेन्द्र रोकायले प्रस्तुत गरेको पारित नीति तथा कार्यक्रम र बजेटमा लेखिएको छ, ‘यातायातको साधन हुने वडाध्यक्षहरुको हकमा मासिक २५ लिटर पेट्रोल पदाधिकारी इन्धन शीर्षकबाट भुक्तानी दिने व्यवस्था मिलाएको छु ।’ 

यार्सागुम्बामा बिक्री कर 

ठूलीभेरी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ देखि यार्सागुम्बामा बिक्री कर लगाउने भएको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटमा यार्सागुम्बामा बिक्री कर लगाउने उल्लेख छ । यार्सागुम्बामा प्रतिकेजी ५ हजार रुपैयाँ बिक्री कर लगाउने भएको छ । 

‘नगरपालिकाका पाटन लगायतका उच्च पहाडी क्षृत्रमा रहेको यार्सागुम्बा लगायत जडीबुटीको बर्सेनि करोडौँको व्यापार भइरहे पनि नगरको प्राकृतिक स्रोतको रुपमा रहेको जडीबुटीबापतको राजस्व हालसम्म पनि नगरलाई प्राप्त नभइरहेको सन्दर्भमा आगामी आर्थिक वर्ष २०८१/८२ देखि यार्सागुम्बा बिक्रीमा प्रतिकेजी ५ हजार र अन्य जडीबुटीमा बिक्री कर प्रति केजीका दरले कर प्रस्ताव गरेको छु,’ पारित नीति तथा कार्यक्र र बजेटमा उल्लेख छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update