Odapalika - The Fourth Estate - चौथो अंग
जलेश्वर नगरपालिकाका मेयर र उपमेरले सम्हाले कार्यभार

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहितले आइतबारबाट पुनः कार्यभार सम्हालेका छन् । 

भ्रष्टाचारको मुद्दामा सफाइ पाएपछि आइतबारबाट आफूहरुले कार्यभार सम्हालेको नगरप्रमुख सोनारले जानकारी दिए । ‘आजबाट हामीले कार्यभार सम्हालेका छौँ,’ उनले वडापालिकासँग भने । 

आर्थिक अनियमितताको आरोपमा भ्रष्टाचारको मुद्दा परेसँगै निलम्बनमा परेका उनीहरु अदालतबाट सफाइ पाएपछि जिम्मेवारीमा फर्किएका हुन् । 

मेयर सोनार, उपप्रमुख खातुनसँगै वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुनले आइतबारबाट कार्यभार सम्हालेका हुन् । साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको वैशाख २७ गते उनीहरुसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही असार २६ गते विशेष अदालतले उनीहरुलाई सफाइ दिएको हो । 

१२ जनामध्ये विशेष अदालतले ६ जनालाई सफाइ, तीनजनालाई जरिबाना र कैद तथा तीनजनालाई जरिबानामात्र तोकेको छ । जसअनुसार वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिबााना तोकिएको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिबाना मात्र तोकेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update